बाबुराम दाहाल, भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले नगर क्षेत्रभित्र जग्गा प्रशासनसम्बन्धी समस्या समाधान तथा बाँकी रहेका स्वबासीलाई जग्गाधनी प्रमाण पत्र (लालपुर्जा) वितरणलाई तीव्रता दिने भएको छ।
नगरपालिकामा सोमबार नापी कार्यालय भक्तपुरका प्रमुख पूर्णप्रसाद पाण्डेसंगको छलफलपछि स्ववासी जग्गाको पुर्जा वितरण, नाप–नक्सा हुन बाँकी क्षेत्रको नाप–नक्सा तथा वितरण भइसकेका पुर्जा लागू गर्नेलगायत विषयमा महत्वपूर्ण गृहकार्य गरिएको नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले बताएका छन् ।
उपप्रमुख श्रेष्ठका अनुसार साविक वडा नं. ७, ८, ११ र १० तथा हालका वडा नं. ५ र ६ अन्तर्गतका स्ववासी जग्गाको नापी भएको करिब दुई दशकपछि २०७८ सालमा तत्कालीन भूमि सुधारमन्त्री शशी श्रेष्ठको उपस्थितिमा पाटी विहारबाट जग्गाधनी पुर्जा वितरण सुरु गरिएको थियो। त्यसपछि नगरपालिकाको पहलमा २०८० सालमा साविक वडा नं. ४, ५ र ६ तथा हालका वडा नं. ७ र ५ अन्तर्गतका बाँकी पुर्जा समेत वितरण गरिएको थियो।
नगरपालिकाले नाप–नक्सा हुन बाँकी क्षेत्रमा नाप–नक्सा सम्पन्न गरी पुर्जा वितरण गर्ने तथा पुर्जा वितरण भइसकेका क्षेत्रमा त्यसलाई कार्यान्वयनमा ल्याउने विषयलाई प्राथमिकतामा राखेको श्रेष्ठले बताउनुभयो।
भदौभित्र पुर्जा लागू गर्ने तयारी
नापी कार्यालय भक्तपुरका प्रमुख पाण्डेले पुर्जा लागू गर्ने सम्बन्धमा भदौभित्रै सूचना प्रकाशन गरी प्रक्रिया अघि बढाउने र बाँकी रहेका क्षेत्रको पुर्जा वितरणसमेत अगाडि बढाइने जानकारी दिए ।
यसबाट लामो समयदेखि जग्गाधनी पुर्जा प्राप्त गरे पनि त्यसको पूर्ण कार्यान्वयनको प्रतीक्षामा रहेका स्थानीयवासीलाई राहत पुग्ने स्थानीय बाबुकाजी साछेँ श्रेष्ठ बताउँछन् ।
वडा नं. ८ का स्ववासी जग्गाको पुर्जा वितरण अघि बढ्ने
त्यस्तै, हालको वडा नं. ८ अन्तर्गत साविक वडा नं. १ र २ का स्ववासी जग्गाको नाप–नक्सा सम्पन्न भइसकेकाले पुर्जा वितरणका लागि सम्बन्धित विभागबाट सहमति प्राप्त भएको छ।
विभागीय सहमतिपछि अब आवश्यक प्रक्रिया तत्काल अगाडि बढाई ती क्षेत्रका जग्गाधनीलाई पुर्जा वितरण गर्ने तयारी रहेको नापी कार्यालयबाट जानकारी प्राप्त भएको उपप्रमुख श्रेष्ठले जानकारी गराए ।
सिद्धिकालीको उपल्लो नासननीमा पनि पुर्जा वितरण हुने
हालको वडा नं. ५, सिद्धिकालीको उपल्लो नासननी क्षेत्रमा भएको नाप–नक्साका आधारमा आवश्यक प्रक्रिया अघि बढाइने भएको छ।
नगर कार्यपालिकाबाट निर्णय भएपछि नापी कार्यालयले सूचना जारी गर्ने र आवश्यक प्रक्रिया पूरा गरी भदौभित्रै पुर्जा वितरण गर्ने जानकारी प्राप्त भएको उपप्रमुख श्रेष्ठले बताएका छन् ।
भूमि प्रशासन केन्द्र सञ्चालनका लागि १ करोड बजेट
जग्गा प्रशासनसँग सम्बन्धित समस्या समाधानका लागि नगरपालिका आफैँले भूमि प्रशासन केन्द्र सञ्चालन गर्ने प्रक्रिया समेत अघि बढाएको छ।
नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि भूमि प्रशासन केन्द्र सञ्चालन गर्न १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। साथै, भूमि प्रशासन विभागबाट नगरपालिका आफैँले केन्द्र सञ्चालन गर्ने गरी स्वीकृति समेत प्राप्त भइसकेको उपप्रमुख श्रेष्ठले जानकारी दिए ।
नगरपालिकामै भूमि प्रशासन केन्द्र सञ्चालनमा आएपछि जग्गा नापजाँच, पुर्जा, अभिलेख तथा भूमि प्रशासनसँग सम्बन्धित विभिन्न कामका लागि सेवाग्राहीले लामो समयदेखि भोग्दै आएको झन्झट र अन्योल कम हुने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बिश्वास व्यक्त गरेका छन् ।
भूमि प्रशासनसँग सम्बन्धित समस्यालाई प्राथमिकताका साथ समाधान गर्दै स्थानीयवासीलाई सहज, छिटो र व्यवस्थित सेवा उपलब्ध गराइने उनले बताए ।







