
भक्तपुर । ‘राष्ट्रको लागि दुई घण्टा’ अभियानले वातावरणमैत्री विद्यालय र विद्यार्थी कार्यक्रम शुरु गरेको छ।
नेपाल फुलबारीको प्राविधिक सहयोग तथा मध्यपुर थिमि नगरपालिकाको सहकार्यमा कार्यक्रम शुरु गरिएको अभियानका उपाध्यक्ष नरेश रन्जितले जनाएका छन् ।
कार्यक्रममार्फत विद्यार्थीलाई दैनिक जीवनमा आवश्यक वातावरण संरक्षणका व्यवहारिक अभ्यास सिकाइने र लागू गराइने अभियानका अध्यक्ष मधु ढुङ्गेलले जानकारी गराए ।
गठ्ठाघरस्थित आस्था महिला माविमा अभियान उद्घाटन गर्दै मध्यपुर थिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले वातावरणमैत्री ब्यवहारले मात्र प्राकृतिक चुनौतीहरुसंग जुध्न सकिने बताए । कार्यक्रमले कसरी वातावरणमैत्री बन्ने भन्ने पाठ सिकाउने उनले बिश्वास व्यक्त गरे ।

आफ्नो नगरपालिकाले भौतिक विकाससँगै वातावरण संरक्षणलाई पनि समान प्राथमिकता दिएको उनको दावी छ ।
“नगरपालिकाले वातावरणमैत्री संरचना, सरसफाइ र सचेतनाका कार्यक्रमका लागि पर्याप्त बजेट छुट्याएको छ,” उनले भने ।
विद्यार्थीले विद्यालयमा सिकेका कुरा जीवनभर लागू गर्ने बताउँदै उनले नगरपालिकाले सिकाइलाई जीवनोपयोगी बनाउन जोड दिइरहेको पनि जानकारी गराए ।
“हामीले ब्यवहारिक शिक्षामा मात्र जोड दिएका छैनौ, हरेक शुक्रवार जीवनोपयोगी शिक्षा दिने नीति अघि सारेका छौं ।” उनले भने ।
कार्यक्रमको शुभारम्भका अवसरमा प्रमुख श्रेष्ठले तरकारीका बिउ र बिरुवा सारेर अभियानलाई प्रतीकात्मक रूपमा अगाडि बढाएका थिए ।
सो अवसरमा शिक्षा विकास तथा समन्वय इकाइ भक्तपुरकी प्रमुख कमला ज्ञवालीले संस्कारयुक्त शिक्षाको आवश्यकतामा जोड दिइन् । यस्ता कार्यक्रमले संस्कारी नागरिक उत्पादन हुने उनले बिश्वास व्यक्त गरिन् ।

अभियन्ता उत्तरा नेपालको अध्यक्षतामा सम्पन्न ‘वातावरणमैत्री विद्यालय र विद्यार्थी कार्यक्रम’ शुभारम्भका अवसरमा नगरपालिकाको प्रवक्ता कृष्णहरि आचार्य, सूर्यविनायक नगरपालिकाको पूर्व उपप्रमुख जुना बस्नेत, मध्यपुर थिमिकी पूर्व उपप्रमुख अन्जनादेवी मधिकर्मी, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर सिल्पकार लगायतको आतिथ्यता रहेको थियो ।

औपचारिक उद्घाटन संगै बुधबारबाट पहिलो चरणमा जिल्लाका सातवटा विद्यालयमा एकैसाथ कार्यक्रम सञ्चालन गरिएको र अरु विद्यालयमा पनि क्रमशः कार्यक्रम लागू गर्दै जाने अभियानका महासचिव नवराज काफ्लेले जनाएका छन् ।








