जलप्रकोपमा परी ज्यान गुमाएकाको सम्झनामा गोल्डेन सुनगाभामा शोकसभा

बाबुराम दाहाल, भक्तपुर । रसुवाको भोटेकोशी हुँदै आएको जलप्रकोपमा परी ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकको सम्झनामा दुवाकोटस्थित गोल्डेन सुनगाभा इङ्लिस बोर्डिङ स्कुलमा सोमबार साँझ शोकसभा गरिएको छ। घटनाको तेह्रौं दिन राष्ट्रिय शोक दिवसको सन्दर्भमा सोमबार विद्यालयले शोकसभा आयोजना गरेको हो ।

विद्यालय परिवार, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयको सहभागितामा भएको शोकसभामा मैनबत्ती, पाला तथा दियो प्रज्वलन गरी मृतकप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । सहभागीले अझै बेपत्ता रहेकाको खोजीलाई तीव्रता दिन तथा घाइतेको प्रभावकारी उपचार गर्न सरकारसँग आग्रह गरेका थिए ।

विद्यालयका सहायक प्रधानाध्यापक विनय खड्काले विपत्तिले धेरै परिवारलाई अपूरणीय क्षति पुर्‍याएको भन्दै दुःखको यस घडीमा शोकसन्तप्त परिवारप्रति विद्यालयको ऐक्यबद्धता रहेको बताए। व्यवस्थापन समितिका अध्यक्ष लीलानाथ निरौलाले बेपत्ताको खोजी, उद्धार तथा उपचारलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

प्रधानाध्यापक महेशचन्द्र गौतमले विपत्तिबाट भएको मानवीय क्षतिले सिंगो देश स्तब्ध बनेको उल्लेख गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन विपद् व्यवस्थापन, पूर्वतयारी र जोखिम न्यूनीकरणलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

शोकसभामा उद्धार, राहत र पुनर्स्थापनाको काम प्रभावकासुरक्षित आवास, शिक्षा, स्वास्थ्य तथा रोजगारीसहित दीर्घकालीन पुनःस्थापनामा जोड दिनुपर्ने धारणा व्यक्त गरिएको थियो।

यसैबीच, विपत्तिबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि विद्यालयले १ लाख ३० हजार ५ सय ५५ रुपैयाँ  प्रधानमन्त्री राहत कोषमा योगदान गर्ने घोषणा गरेको छ। विद्यालयले आगामी दिनमा पनि प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग जारी राख्ने प्रतिवद्धता प्रकट गरेको छ ।