ठूली ब्रह्मायणीमा नमुना सत्तल निर्माण सम्पन्न

भक्तपुर । नवदुर्गागणको उत्पत्तिस्थलका रूपमा परिचित चाँगुनारायण नगरपालिका–८, सुडालस्थित ठूली ब्रह्मायणी मन्दिर परिसरमा कलात्मक मृतिका तेराकोटा शैलीमा निर्माण गरिएको नमुना सत्तल–फल्चा उद्घाटन तथा हस्तान्तरण गरिने भएको छ।

यससम्बन्धी जानकारी दिन रफत सञ्चार क्लबमा आयोजित पत्रकार सम्मेलनमा सत्तल–फल्चाका निर्माणकर्ता भक्तपुर नगरपालिका–९, तौलाछें निवासी विष्णु प्रसाद किसि प्रजापति र मोहोन प्रसाद किसि प्रजापतिले आफ्ना दिवंगत बुवा तथा आमाको स्मृतिमा परिवारको निजी लगानीमा उक्त सत्तल–फल्चा निर्माण गरिएको जानकारी दिए।

प्रजापतिका अनुसार धार्मिक तथा सांस्कृतिक महत्व बोकेको ठूली ब्रह्मायणी मन्दिर परिसरमा मौलिक कला, वास्तुकला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले तेराकोटा शैलीमा सत्तल–फल्चा निर्माण गरिएको हो। उनले आफ्ना अभिभावकको स्मृतिलाई स्थायी बनाउँदै धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा समेत योगदान पुर्‍याउने उद्देश्यले निजी लगानीमा निर्माण कार्य अघि बढाएको बताए।

निर्माण सम्पन्न भएको सत्तल–फल्चाको उद्घाटन तथा हस्तान्तरणसँगै क्षमा पूजा, समयबजी ब्वोछ्यागु सम्मान तथा प्रसाद ग्रहण कार्यक्रम समेत आयोजना गरिने भएको छ।
कार्यक्रममा ब्रम्हायाणी बिकास समितिका अध्यक्ष सहदेव शाखकर्मीले २८ गते हुन लागेको फल्चा हस्तान्तरण कार्यक्रममा सबैलाई निम्तो दिँदै बिष्णु प्रजापतिले गरेको अतुलनिय कामको प्रशंसा गरे । उनले यो निमार्णसँगै ठूली ब्रम्हायाणी क्षेत्रको धार्मीक सौन्यतामा थप टेवा पुग्ने बताए । उनले भने यस क्षेत्रको धार्मीक पक्षलाई यो सत्तल फल्चाले मदत पुग्नुका साथै आन्तरिक धार्मीक पर्यटनमा समेत थप टेवा पग्ने बताए ।

कार्यक्रम साउन २८ गते बिहीबार बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म ठूली ब्रह्मायणी मन्दिर परिसरको सत्तल प्राङ्गणमा आयोजना हुने आयोजकले जनाएको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, संस्कृतिकर्मी, समाजसेवी, विभिन्न क्षेत्रका व्यक्तित्व तथा सञ्चारकर्मीको सहभागिता रहने बताइएको छ।

आयोजकले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र मौलिक कला–संस्कृतिको प्रवर्द्धनमा चासो राख्ने सबैलाई कार्यक्रममा उपस्थित हुन आग्रह गरेको छ।