भक्तपुरका सूचना अधिकारीलाई अभिमुखीकरण

भक्तपुर । १९ औं राष्ट्रिय सूचना दिवसको अवसरमा भक्तपुरको सरकारी कार्यालयका सूचना अधिकारीलाई अभिमुखीकरण गरिएको छ । राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त एवं नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा सुरेश आचार्यले उनीहरूलाई सूचनाको हक सम्बन्धि ऐन-२०६४ बारे अभिमुखीकरण गरेका छन् ।

बुधबार जिल्ला हुलाक कार्यालयले आयोजना गरेको कार्यक्रममा आचार्यले सूचनाको हकसम्बन्धी कानुनी व्यवस्था र कार्यान्वयनको अवस्थाबारे बताउँदै नागरिकले मागेको सूचना सरल, सहज र समयमै उपलब्ध गराउन प्रेरित गरे । सूचना अधिकारीले सूचना दिनुलाई आफ्नै निजी सम्पत्ति दिनुपरे झै कन्जुस्याइँ गर्नु नहुने र सूचना मागकर्ताले पनि सूचनाको दुरुपयोग गर्नु नहुने उनले प्रष्ट पारे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले सूचना दिँदा एकातर्फ नागरिक अधिकार सुनिश्चित हुने र अर्कोतर्फ सुशासन प्रवर्द्धनमा मद्दत पुग्ने उल्लेख गर्दै सूचना अधिकारीलाई सूचनासम्बन्धि क्षमताविकासका कार्यक्रम गर्दैजाने प्रतिवद्धता प्रकट गरे ।

उनले सबै कार्यालयले फोटोसहित अनिवार्यरुपले सूचना अधिकारीबारे जानकारी अनिवार्य सार्वजनिक गर्न र सेवाग्राहीलाई आवश्यक सूचना समयमै उपलब्ध गराउन निर्देशन दिँदै त्यसको अनुगमन गरिने समेत बताए ।

कार्यक्रम आयोजक जिल्ला हुलाक कार्यालय भक्तपुरकी प्रमुख एवं सूचनाको हक अनुगमन समितिकी सदस्य-सचिव रहेकी सीता साम्बाले जिल्लामा ५४ वटा सरकारी कार्यालय रहेका र सूचनाको हकसम्बन्धि ऐन कार्यान्वयनको अवस्था सन्तोषजनक रहेको बताइन् ।

सुशासन ग्यारेन्टी गर्न पारदर्शीता आवश्यक रहेकि स्पष्ट पार्दै उनले सूचनाको हक प्रयोग गर्न आम नागरिकलाई सूसुचित एवं प्रोत्साहित गर्नुपर्ने र त्यसका लागि सूचना अधिकारी समेत सूचनामैत्री बन्नुपर्नेमा उनले जोड दिएकी छन् ।

कार्यक्रममा सरकारी कार्यालयका सूचना अधिकारी, नेपाल पत्रकार महासंघका प्रतिनिधि, सूचना अभियन्ता लगायतको उपस्थिति रहेको थियो ।

सूचनाको हकसम्बन्धी ऐन, २०६४ लागू भएको दिन भदौ ३ लाई राष्ट्रिय सूचना दिवसको रुपमा देशभर मनाइँने गरिन्छ । सोही सन्दर्भमा भक्तपुरमा पनि अभिमुखीकरण कार्यक्रम गरिएको हो ।