बुधबार भक्तपुरमा कांग्रेसको विचार गोष्ठी, देउवा प्रमुख वक्ता

भक्तपुर । नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले पार्टीका संस्थापक नेता, पूर्वप्रधानमन्त्री तथा जननायक बी.पी. कोइरालाको ११३औँ जन्मजयन्तीको अवसरमा ‘बी.पी. विचार, राष्ट्रिय राजनीति र नेपाली कांग्रेस’ विषयक विचार गोष्ठी आयोजना गर्ने भएको छ।

नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा क्षेत्रीले बुधवार गोष्ठी आयोजना हुने बताए । गोष्ठीमा प्रमुख वक्ताको रुपमा पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आउने बताइएको छ ।

देउवा प्रमुख वक्ता भए पनि सो गोष्ठी कुनै गुट वा समूहको भेला नभई नेपाली कांग्रेस जिल्ला कार्यसमितिको आधिकारिक कार्यक्रम भएको उनले स्पष्ट पारेका छन् ।

जिल्ला सभापति थापा क्षेत्रीले बुधबार दिउँसो १ बजे हेरिटेज पार्टी प्यालेसमा गोष्ठी संचालन हुने जानकारी गराए ।

गोष्ठीमा बी.पी. कोइरालाको राजनीतिक दर्शन र वर्तमान नेपाली कांग्रेसको राजनीतिक दिशाका साथै समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल हुने उनले जानकारी गराए ।

लोकतन्त्रवादी विचारधारामा विश्वास राख्ने नेपाली कांग्रेसका जिल्लाका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई कार्यक्रममा उपस्थितिका लागि जिल्ला कार्यसमितिले एक बिज्ञप्तिमार्फत आह्वानसमेत गरेको छ ।