गगन थापा भन्छन् : देउवासँग भेटेर कुरा गर्न चाहेको छु, तर समय पाएको छैन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले हरसम्भव प्रयास गर्दा पनि निवर्तमान सभापति शेरबहादुर देउवासँग भेट्ने समय नपाएको बताएका छन्। आइतबार र सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेताहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उक्त कुरा जानकारी गराएका हुन्।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार सभापति थापाले भदौ ५ गते (शुक्रबार) देउवाका स्वकीय सचिव भानु देउवालाई फोन गरेर भेटको समय मागेका थिए। पार्टीलाई एकजुट बनाएर लैजान निवर्तमान सभापतिसँग छलफल गर्न चाहे पनि समय नपाएको उनको भनाइ थियो।

देउवासँग भेट नभएपछि उनले शनिबार साँझ निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र आइतबार डा. शेखर कोइरालासँग भेट गरी इतर समूहका मागबारे छलफल गरेको बैठकलाई जानकारी गराएका थिए।

क्रियाशील सदस्यतासम्बन्धी निर्णय

इतर समूहको मागलाई सम्बोधन गर्दै सभापति थापाले १५औँ महाधिवेशनका लागि नवीकरण गरिएका क्रियाशील सदस्यहरूलाई डिजिटल रूपमा अद्यावधिक गर्ने विषयलाई अनिवार्य नगर्ने प्रस्ताव राखेका थिए, जसलाई बैठकले सर्वसम्मत स्वीकार गरेको छ।

यद्यपि, बैठकपछि जारी आधिकारिक विज्ञप्तिमा यो विषय उल्लेख नभए पनि प्रवक्ता देवराज चालिसेले अद्यावधिक नगरेका सदस्यहरूलाई सर्तसहित महाधिवेशनमा सहभागी गराइने जानकारी सञ्चारकर्मीहरूलाई दिएका छन्।

महाधिवेशनको मिति नसर्ने

बैठकमा नेता अर्जुननरसिंह केसीले पार्टीभित्र सहमति जुटाउन आगामी असोज १६ देखि १९ गतेसम्म तय गरिएको १५औँ महाधिवेशनको मिति कात्तिकसम्म सार्ने प्रस्ताव गरेका थिए। तर, सभापति थापाले उक्त प्रस्ताव अस्वीकार गरे। सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्दा असोज १६ देखि १९ गतेकै मिति तोकिएकाले केन्द्रीय महाधिवेशनको मिति सार्न नसकिने थापाको भनाइ थियो।

तल्लो तहका अधिवेशनको कार्यतालिका फेरिने

केन्द्रीय महाधिवेशन तोकिएकै समयमा हुने भए पनि भदौ २४ गतेदेखि सुरु हुने भनिएको वडा अधिवेशन भने पछि सर्ने भएको छ। केन्द्रीय महाधिवेशन प्रभावित नहुने गरी तल्लो तहका अधिवेशनहरूको नयाँ कार्यतालिका ल्याउने जिम्मेवारी पार्टीको निर्वाचन समितिलाई दिइएको छ।

यसका साथै, १५औँ महाधिवेशन सम्पन्न गर्न देखिएका वैधानिक जटिलता फुकाउन ‘बाधा अड्काउ फुकाऊ’ प्रयोग गर्ने निर्णय पनि बैठकले गरेको छ। कानुनविद्हरूसँगको परामर्शपछि यससम्बन्धी औपचारिक विज्ञप्ति जारी गरिने केन्द्रीय कार्यालयले जनाएको छ।