मिस्टर भक्तपुर तथा महिला एथलेटिक्स फिटनेस प्रतियोगिताको मिति सार्वजनिक

भक्तपुर । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ भक्तपुरमा छैटौँ मिस्टर भक्तपुर तथा तेस्रो महिला एथलेटिक्स फिटनेस–२०८३ शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ।  आयोजक भक्तपुर जिल्ला शारिरिक सुगठन तथा फिटनेस संघले सोमबार रफत सञ्चार क्लबमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे बताएको हो ।

प्रतियोगितामा पुरुषतर्फ ५५, ६०, ६५, ७० र ७० केजीभन्दा माथिका तौल समूहमा प्रतिस्पर्धा हुने तथा महिला एथलेटिक्स फिजिक्सतर्फ खुला समूहमा प्रतिस्पर्धा गराइने अध्यक्ष ज्ञानेन्द्र मानन्धरले बताए।

आयोजकले जनाए अनुसार भक्तपुर जिल्लाभित्रका विभिन्न क्लबबाट खेलाडी सहभागी हुनेछन् । भक्तपुरमा आयोजना गरिने उक्त प्रतियोगितामा जिल्लाभित्रका करिब ६० जना खेलाडीको सहभागिता रहने मानन्धरले बताए।

कार्यक्रम संयोजक बाबुकाजि मानन्धरका अनुसार पुरुषतर्फ प्रत्येक तौल समूहका विजेताबीच ओभरअल प्रतिस्पर्धा गराइनेछ। ओभरअल विजेताले छैटौँ मिस्टर भक्तपुर–२०८३ को उपाधिसहित नगद १ लाख रुपैयाँ, ट्रफी तथा बायोनेट प्राप्त गर्नेछन्। दोस्रोदेखि पाँचौँ स्थान हासिल गर्ने खेलाडीले क्रमशः ५० हजार, ४० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

महिला एथलेटिक्स फिजिक्सतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिने उनले जानकारी गराए ।

प्रतियोगिताको अनुमानित बजेट करिब १५ लाख रुपैयाँ रहेको छ। विभिन्न संघ–संस्था तथा व्यक्तिको सहयोगमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगिताले भक्तपुरका खेलाडीको प्रतिभा पहिचान गर्नुका साथै युवामा खेलकुदप्रतिको रुचि र उत्साह बढाउने विश्वास व्यक्त गरिएको छ ।

 प्रतियोगिताको पहिलो दिन असोज २ गते शुक्रबार क्लब डिस्पाराडोमा खेलाडीहरूको वेट राउण्ड तथा ड्रइङ लटको कार्यक्रम हुने मानन्धरले बताए। असोज ३ गते प्रिजजिङ तथा फाइनल खेल हुने र तत्पश्चात् पाँच जना खेलाडी चयन गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीले २०८३ भदौ २६ गते शुक्रबारसम्म फारम बुझाउन सक्नेछन्। फारम अल्टिमेट फिजिकल फिटनेस, हुलाक रोड थिमि, क्लब डिस्पाराडो र भक्तपुर ब्यासीबाट उपलब्ध हुने आयोजकले जनाएको छ।