थापामगरलाई एमालेमा अवसरै अवसर, दश वर्षमै वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २(क) सूर्यविनायक क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य किरण थापामगर बागमती प्रदेश सरकारको मुख्यमन्त्री बन्न सफल भएका छन् । उनले बिहीबार सपथग्रहण गरी प्रदेशको सातौ प्रधानमन्त्री बन्न सफल भएका हुन् ।

प्रदेश सभा सदस्य निर्वाचित भएको करिब चार वर्षको अवधिमा उनले दुई पटक स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हाल्ने अवसर पाए । पहिलोपटक बहादुर सिंह लामा नेतृत्वको सरकारमा र पछिल्लो पटक इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारमा गरी उनले करिब २ वर्ष मन्त्रीको अनुभव गरे । त्यहीँ अनुभवले यतिबेला उनलाई मुख्यमन्त्री बन्ने बाटो खोल्यो ।

नेकपा(एमाले)को तर्फबाट मुख्यमन्त्री बनेका थापामगर सूर्यविनायक नगरपालिका वडा नम्बर ८ का पूर्व वडाध्यक्ष हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) बाट राजनीति शुरु गरेका उनी करिब १० वर्ष अघि मात्रै एमालेमा प्रवेश गरेका थिए । राप्रपामा रहँदा खासै चर्चामा नरहेका उनका लागि एमालेमा आएपछि भने अवसरै अवसरको ढोका खुल्यो ।

नेपाली राजनीतिमा यति तीव्र गतिमा जिम्मेवारीको उचाइ चुम्ने नेताहरू अपवादमा मात्रै हुन्छन् । एमाले प्रवेश गर्ने बित्तिकै २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षको उम्मेदवारी पाएर निर्वाचित थापामगरले त्यस लगत्तै २०७९ मा भएको प्रदेश सभाको निर्वाचनमा पनि बाजी मारे । स्थानीय तहको वडाध्यक्षबाट सिधै प्रदेश सभा सदस्य र त्यसपछि मन्त्री र लगत्तै प्रदेशको सर्वोच्च कार्यकारी पद मुख्यमन्त्रीसम्मको उनको यात्रा राजनीतिक वृत्तमा बिरलै पाइने परिघटना हुन् ।

उनी राप्रपामा रहँदा क्षेत्रीय सदस्यसम्म भए । राप्रपामा उनले पाएको अर्को पद भनेको उनी तत्कालीन जिल्ला सभापति सुरेन्द्रप्रताप शाहको स्वकीय सचिव भएका थिए । भक्तपुरको जिल्ला विकास समितिका सभापति तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुरेन्द्रप्रताप शाहको संगतबाट किरण थापामगरले शक्तिसंग नजिकिने अवसर पाए । त्यतिबेलै उनले राजनीतिको शक्तिलाई नजिकबाट नियाल्न र अनुभव गर्न पाएका थिए ।

राप्रपाबाट एमालेमा आएपछि पनि थापामगरले राप्रपालाई कहिल्यै चिढाएनन । बरु राप्रपाकै मत उनलाई वडाध्यक्ष र प्रदेश सभा सदस्य निर्वाचित गर्न प्रयोग भएको मानिन्छ । यतिबेला मुख्यमन्त्री बन्न समेत राप्रपाका प्रदेश सभा सदस्यहरुको साथ,सहयोग र समर्थनले थापामगरसंग राप्रपा दाहिने रहेको भन्नेहरुलाई बल मिलेको मान्न सकिन्छ ।

थापामगर राजनीतिमा जस्तै ब्यवसायमा पनि सफल छन् । राप्रपा हुँदै उनले बिभिन्न ब्यवशाय शुरु गरेका थिए । उनले घरजग्गाको कारोबार र निर्माण ब्यवसायबाट प्रसस्त सम्पत्ति जोडेका छन् । सूर्यविनायक आशापुरी क्षेत्रमा अझै सयौं रोपनी जग्गा उनी मातहत रहेको उनी निकट श्रोतको भनाइ छ ।

पछिल्लो समय भने उनले आफ्नो ब्यवसायको जिम्मा आफ्ना दुई भाइ छोरालाई दिएर राजनीतिमा पूर्णकालीन रहेका छन् । पलासेस्थित अरनिको हाइवेसंगै रहेको काठमाडौ फन भ्यालीदेखि बिभिन्न होटल, रिसोर्ट र डिपार्टमेन्ट स्टोर्समा उनको पारिवारिक लगानी रहेको छ ।

सूर्यविनायक-८ सिपाडोलको टौडोल निवासी ५० वर्षीय थापामगरले श्री सरस्वती विद्यागृह भक्तपुरबाट एसएलसी उतीर्ण गरेका थिए । एसएलसी उतीर्ण भएको लामो अन्तरालमा आइए अध्ययन गरेपनि उनले उच्च शिक्षा अध्ययन भने अघि बढाउन सकेनन् । अध्ययनमा पछि परेपनि ब्यवसाय र राजनीतिमा उनले कहिल्यै पछाडि फर्कनु परेको छैन ।

थापामगर मृदुभाषी छन् । अरुको कुरा सुन्ने, छिटो नरिसाउने र मीठो बोल्ने उनको गुण रहेको छ । यहीँ गुणका कारण उनी नेताकार्यकर्ताका प्रिय रहेका छन् । नेकपा एमालेमा सचिव महेश बस्नेतका मान्छे भएर भित्रिएका उनलाई बस्नेतको साथ उत्तिकै छ । पार्टी प्रवेश गर्ने बित्तिकै वडाध्यक्षको टिकट र त्यस लगत्तै प्रदेश सभा सदस्यको टिकट उनै बस्नेतको पहलमा उनले पाएका हुन् ।

यस् पटक मुख्यमन्त्री पदका लागि दलको नेता जेएन थपलियालाई पाखा लगाउदै थापामगरले सजिलै आफ्नो पोल्टामा पार्न सफल भए । जेनजी आन्दोलनपछि गुण्डु बसाइँ सरेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सचिव बस्नेतले राजनीतिमा पुनर्स्थापना गर्न गरेको प्रयास र त्यसमा थापामगरको साथले पनि पार्टीमा पहुँच बढाउन मद्दत मिलेको मानिन्छ । थापामगरलाई मुख्यमन्त्री बनाउन नै बागमती प्रदेश सरकारमा एमालेले नेतृत्व लिएको नेपाली कम्युनिस्ट पार्टीसंग सत्ता सहमति हुँदाकै बखतदेखि हल्ला चलेको थियो ।

पार्टी हैसियतमा भने थापामगर सूर्यविनायक नगर समितिका उपाध्यक्ष मात्र हुन् । उनले गत जिल्ला अधिवेशनमा सूर्यविनायक नगरपालिका प्रमुख समेत रहेका नेता बासुदेव थापालाई पराजित गर्दै उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । पार्टीमा वासुदेवलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी निकट नेता मानिन्छ । जिल्ला अध्यक्षमा भण्डारी निकट मानिने बचन देउजा निर्वाचित हुँदा उपाध्यक्षमा भने थापामगर निर्वाचित भएपछि अध्यक्ष ओली दङ्ग परेका थिए । त्यसपछि थापामगरप्रति ओलीको आकर्षण थप बढेको एमाले बृत्तमा चर्चा हुनेगर्छ ।