
भक्तपुर । जनजागृती साप्ताहिकका प्रकाशक एवं सम्पादक समेत रहेका पुराना वामपन्थी नेता ज्ञानेन्द्रमान श्रेष्ठको निधन भएको छ । पित्तथैलीको टिबी र मिर्गौलासम्बन्धि रोगबाट ग्रसित श्रेष्ठको ७६ वर्षको उमेरमा निधन भएको हो ।
उनका श्रीमती र दुई छोरी छन् । जीवनको उत्तरार्थमा रोगले थला पारेपछि श्रेष्ठ परिवारसंग अमेरिकामा रहेका थिए । उनी भक्तपुर-१ नपली (सृजनानगर) निवासी हुन् ।
शनिबार नेपाली कम्युनिस्ट पार्टी भक्तपुरले उनको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गरी ज्ञानेन्द्रमानको राजनीतिक र सामाजिक योगदानको स्मरण गरेको छ ।

नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभाका सांसद देवेन्द्र श्रेष्ठ दिवाकरले ज्ञानेन्द्रमान काठमाडौको पाको न्यूरोडका धनाढ्य भएर पनि सर्वहारा किसान र मजदुर वर्गको पक्षमा कम्युनिस्ट आन्दोलनमा होमिएका स्मरण गरे । जनमोर्चाका नेता ज्ञानेन्द्रमान नेता निर्मल लामाका अत्यन्त नजिकका सहयोगी एवं बिश्वासपात्रको रुपमा रहेका उनले बताए ।
जनयुद्धमा सामेल नभएपनि ज्ञानेन्द्रमानले आफूहरुलाई प्रहरी प्रशासनले पक्राउ गर्दा जिम्मा लिएको, सहयोग गरेको लगायत स्मरण गर्दै नेता श्रेष्ठले भक्तपुरमा कम्युनिस्ट आन्दोलन अघि बढाउन उनको योगदान अविस्मरणीय रहेको उल्लेख गरे ।

त्यस्तै अर्की केन्द्रीय सदस्य भवानी खड्काले ज्ञानेन्द्रमानले आफ्नो शिक्षक श्रीमतीलाई आन्दोलनमा आफैंले पुर्याउने गरेको स्मरण गर्दै उनलाई बोली र ब्यवहार एकै भएका क्रान्तिकारी नेताको रुपमा स्मरण गरिन् ।
त्यसैगरी उनीसंग सहकार्य गरेका उनका कार्यकर्ताहरू हाल नेपाली कम्युनिस्ट पार्टी भक्तपुरका नेताहरू तुलसीभक्त त्वयना, श्रीराम सुवाल र अस्मिता बासुकलाले ज्ञानेन्द्रमान हकी, इमानदार र सहयोगी भावनाका भएका र उनमा नेतृत्व क्षमता असाधारण रहेको उल्लेख गरे । उनको नेतृत्वमा पन्चायत कालमा बाली भित्र्याउने आन्दोलन भएको स्मरण गर्दै उनीहरूले सामन्तीको मुटु धर्काउने र गरीवलाई असाध्यै माया गर्ने नेताको रुपमा उनलाई स्मरण गरे ।

श्रद्धाञ्जली सभामा नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यहरु दिलिप प्रजापति भीस्म, प्रतिमा श्रेष्ठ, श्रीराम खाइजु त्यसैगरी जिल्ला सह संयोजक एवं बागमती प्रदेश सभा सदस्य भुवनकेशरी श्रेष्ठ भावना, बागमती प्रदेश सचिवालय सदस्य एवं युवा विभाग सहइन्चार्ज डिपी थपलिया आक्रोश, अर्का प्रदेश सदस्य साजन प्रजापति, नरेश खड्का, मिलन लामा लगायतले ज्ञानेन्द्रमानप्रतिको सच्चा श्रद्धाञ्जली उनको क्रान्तिकारी पदचाप पछ्याउनुमै हुने प्रतिक्रिया दिए ।

कार्यक्रम आयोजक नेपाली कम्युनिस्ट पार्टी भक्तपुरका इन्चार्ज एवं केन्द्रीय सदस्य डिपी ढकालले अन्याय, अत्याचार, दमन, शोषण र उत्पिडन विरुद्ध आवाज उठाउँदा तत्कालीन राज्यसत्ताबाट पटकपटक जेल सजाय भोगेका ज्ञानेन्द्रमानले पार्टीलाई सधै सहयोग गरेको तर, ब्यक्तिगत लाभको आशा कहिल्यै नराखेको स्मरण गर्दै उनीजस्ता क्रान्तिकारी नेताकार्यकर्ता कम्युनिस्ट आन्दोलनमा अझ आवश्यक रहेको उल्लेख गरे ।








