
ललितपुर । सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नदेखिएको आरोप लगाउँदै विज्ञापन बोर्डमा अध्यक्ष पदको प्रतिस्पर्धाबाट रामहरि कार्की बाहिरिएका छन् । नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष समेत रहेका कार्कीले नैतिकताका आधारमा आफू प्रतिस्पर्धाबाट बाहिरिने निर्णय गरेका हुन् ।
पत्रकार महासंघ उपत्यका प्रदेश समिति तथा मातहतका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला शाखाहरू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सरकार विरुद्ध आन्दोलनरत छन् । यस्तोमा आफू सरकारद्वारा नियुक्त हुने पदको प्रतिस्पर्धामा सहभागी भइरहन नैतिक रूपमा उचित नहुने निष्कर्षमा पुगेको उनले प्रतिक्रिया दिए ।
आफू बिज्ञापन क्षेत्रको बेथिति अन्त्य गर्दै सञ्चार क्षेत्रलाई समृद्ध बनाउन अध्यक्ष पदको प्रतिस्पर्धामा पुगेपनि पछिल्लो समय सरकारको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रतिको व्यवहारले निराश बनाएको उनले बताए ।
उनका अनुसार संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारप्रति सरकारको व्यवहार क्रमशः संकुचित हुँदै गएको छ । स्वतन्त्र प्रेसलाई संरक्षण र सहयोग गर्नुपर्नेमा सरकार संकुचन, नियन्त्रण तथा हस्तक्षेपको बाटोमा अघि बढेको उनको निस्कर्ष छ ।
उनले लोककल्याणकारी बिज्ञापनको रकम कटौती, निजी सञ्चार माध्यममा सरकारी बिज्ञापनको नाकाबन्दी, सरकारका मन्त्रीहरुबाटै प्रेस्माथि धम्की र दबाबको वातावरणमा आफू सोही सरकार मातहत काम गर्न नसक्ने निस्कर्ष सुनाए ।
“मेरो यो निर्णय प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य, मान्यता र पत्रकारिताको मर्यादाप्रतिको प्रतिबद्धताको सार्वजनिक घोषणा हो ।” कार्कीले भने ।






