सार्वजनिक स्थलमा अङ्ग प्रदर्शन गरेको अभियोगमा अधिकृत पक्राउ

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नम्बर २ इमाडोलस्थित सार्वजनिक स्थलमा महिलालाई आफ्नो गोप्य अङ्ग प्रदर्शन गरेको अभियोगमा ५५ वर्षिय एक पुरुष पक्राउ परेका छन् । पक्राउ परेका ब्यक्ति बैतडी स्थायी घर भइ इमाडोलमा बस्दै आएका थिए ।

शिक्षा विकास तथा समन्वय इकाइ ललितपुरमा विद्यालय निरीक्षक रहेका उनी हाल शिक्षा अधिकृतको रुपमा रक्षा मन्त्रालयमा कार्यरत रहेका पाइएको छ ।

पीडित महिलाले उनको भिडियो सामाजिक संजाल मार्फत सार्वजनिक गरेपछि प्रहरी वृत्त सातदोवाटोको टोलीले उनलाई पक्राउ गरेको हो ।भिडियो भाइरल भएलगत्तै प्रहरी टोली परिचालन गरिएको र उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले पुष्टि गरेको छ ।

प्रहरी वृत्त सातदोवाटोले हिरासतमा राखि थप अनुसन्धान अघि बढाएको बुझिएको छ । पिडक भनिएका ब्यक्तिको बास्तविक अवस्था अनुसन्धान नगरी प्रहरीले पहिचान सार्वजनिक गरेपछि त्यसले परिवारिक प्रतिस्ठामा आघात पुगेको आफन्तजनले गुनासो गरेका छन् ।

यस अघि पीडित भनिएकी महिलाले आफूलाई गोप्य अङ्ग देखाएको भन्दै उनलाई हातपात गरेको भिडियो सामाजिक संजालमा राखेकी थिइन् । (अनुसन्धानकै क्रममा रहेकोले ब्यक्तिको पहिचान गोप्य राखिएको छ ।)