एकैदिन पाँच ठाउँ चोरी गर्ने पक्राउ

ललितपुर । ललितपुरको हरिसिद्धी क्षेत्रमा एकैदिन पाँच ठाउँमा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१४, ठैबका ३३ वर्षीय सुरज महर्जन रहेका छन्।

प्रहरीका अनुसार साउन २२ गते बिहान करिब ८ बजे ललितपुर महानगरपालिका–२८, हरिसिद्धीस्थित रिना महर्जनको घरकोठामा चोरी भएको थियो। चोरीको सूचना प्राप्त भएपछि प्रहरीले घटनास्थल तथा आसपासका क्षेत्रमा जडान गरिएका सीसीटीभी क्यामेराको फुटेजको आधारमा संदिग्ध व्यक्तिको खोजी थालेको थियो।

खोजतलासका क्रममा प्रहरी वृत्त सातदोबाटो, ललितपुरको टोलीले महर्जनलाई बा.९० प २७६४ नम्बरको मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।

प्रहरीले उनको शरीर खानतलासी गर्दा उनले बोकेको ‘CAT’ लेखिएको कालो झोलाभित्र विभिन्न सुन तथा चाँदीका गरगहना, नगद र अन्य सामान फेला पारेको जनाएको छ। बरामद सामान चोरीकै भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

सुनजस्तो देखिने धातुका गरगहना बरामद
महर्जनको साथबाट सुनजस्तो देखिने धातुका विभिन्न गरगहना बरामद भएका छन्। बरामद गरगहनामा रातो पोतेसहितको नौगेडी ८१.७३ ग्राम, हार १४.८६ ग्राम, झुमका पिंजडा एक जोर ६.७८ ग्राम, कानमा लगाउने झुमका एक जोर ८.०२ ग्राम, औँठी ५.१८ ग्राम, सिक्री १५.२८ र १०.८२ ग्रामका दुई थान तथा रातो पोतेमा रहेको तिलहरी पोतेसहित २३९.०७ ग्राम रहेका छन्।

त्यस्तै, चार थान चुरा/बालासमेत बरामद भएको प्रहरीले जनाएको छ। ती चुरा/बालाको तौल ८३.९१ ग्राम रहेको छ।

चाँदीका गरगहनासहित नगद पनि बरामद
प्रहरीका अनुसार उनको साथबाट चाँदीजस्तो देखिने धातुका गरगहना पनि बरामद भएका छन्। तीन थान औँठी १३.४८ ग्राम, चाबी झुण्ड्याउने रिङ ६०.३६ ग्राम, हार ५४.५९ ग्राम, हनुमानको लकेटसहितको सिक्री १४.९१ ग्राम, ब्रासलेट २४.१३ ग्राम तथा एक जोर पाउजु १३.२८ ग्राम बरामद भएको छ।

त्यसैगरी, हवाईट गोल्ड तथा डायमण्डजस्तो देखिने दुई थान औँठी, पुराना तथा नयाँ सिक्का र नगद ११ हजार ३९० रुपैयाँ समेत फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले ‘Bessie’ लेखिएको खैरो लेडिज झोला र ‘Baggit’ लेखिएको कालो लेडिज झोला पनि बरामद गरेको छ।

एकैदिन पाँच ठाउँमा चोरी गरेको प्रहरीको दाबी
प्रहरीका अनुसार पक्राउ परेका महर्जनले साउन २२ गते एकैदिन हरिसिद्धी क्षेत्रका पाँच ठाउँमा चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेपछि बरामद भएका गरगहना तथा अन्य सामानको वास्तविक धनी पहिचान गर्ने र चोरी भएका अन्य स्थान तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

महर्जनविरुद्ध चोरीसम्बन्धी कसुरमा ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। प्रहरीले घटनामा अन्य व्यक्तिको संलग्नता भए नभएको विषयमा समेत अनुसन्धान भइरहेको जनाएको छ।