नवराज काफ्ले, ललितपुर । विपदमा रगतको अभाव हुन नदिन ललितपुरमा बृहत् खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २८ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका छन्।
पातञ्जल योग समिति नेपाल, जिल्ला शाखा ललितपुर र लायन्स क्लब अफ काठमाडौं स्पिरिचुअलको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी भक्तपुर र योगामाण्डुको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा सहभागीहरूले ‘रक्तदान जीवनदान’को भावनालाई व्यवहारमा उतार्दै नियमित रक्तदानमार्फत मानवीय सेवामा योगदान गर्नुपर्नेमा जोड दिएका छन्।
दुर्घटना, आकस्मिक शल्यक्रिया, प्रसूति तथा विभिन्न जटिल स्वास्थ्य अवस्थाका बिरामीका लागि रगत अत्यावश्यक हुन्छ। रगतको कृत्रिम विकल्प सहज रूपमा उपलब्ध नहुने भएकाले स्वयंसेवी रक्तदाताले उपलब्ध गराउने रगत जीवनरक्षाको महत्वपूर्ण आधार बन्ने गरेको छ।
त्यसैले स्वस्थ नागरिकलाई नियमित रक्तदानमा सहभागी गराउनु सामाजिक उत्तरदायित्वसमेत भएको कार्यक्रममा बताइएको थियो।
कार्यक्रममा पातञ्जल योग समिति नेपाल जिल्ला शाखा ललितपुरका पदाधिकारी तथा सदस्य, लायन्स क्लब अफ काठमाडौं स्पिरिचुअलका अध्यक्ष बैकुण्ठ पौडेल, सेकेन्ड भाइस प्रेसिडेन्ट सुमन खरेल, कोषाध्यक्ष अनुप रिजाल तथा सदस्य मुकेश श्रेष्ठ र दीपिका हाडालगायतको सहभागिता थियो।
त्यस्तै, पातञ्जल योग समिति नेपालका केन्द्रीय महासचिव नवराज काफ्ले, केन्द्रीय सदस्य तथा जिल्ला शाखा ललितपुरका अध्यक्ष कपिल शाही, साइक्लिङ एसोसिएसनका अध्यक्ष पूर्ण डङ्गोल, जिल्ला प्रहरी परिसर ललितपुरका प्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा पातञ्जल योग समिति नेपालका केन्द्रीय महासचिव नवराज काफ्लेले योग र स्वास्थ्यसँगै सामाजिक तथा मानवीय सेवाका अभियानमा समितिले निरन्तर सक्रियता बढाउने बताए। उनले पछिल्लो समय बाढी तथा विपद्बाट प्रभावित नागरिकको सहयोगमा समेत सबैलाई जुट्न आग्रह गरे।
पातञ्जल योग समिति नेपाल जिल्ला शाखा ललितपुरका अध्यक्ष कपिल शाहीले रक्तदानमा सहभागी २८ जना स्वयंसेवी रक्तदाता तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए।
लायन्स क्लब अफ काठमाडौं स्पिरिचुअलका अध्यक्ष बैकुण्ठ पौडेलले रक्तदान अभियानलाई निरन्तर सामाजिक अभियानका रूपमा अघि बढाइरहेको बताए।
उनले बाढीका कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरे। साथै, प्रभावित तथा बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन नागरिकको खोज तथा उद्धार कार्यलाई तीव्रता दिन सरकार र सम्बन्धित निकायसँग आग्रह गरे।
रक्तदान कार्यक्रमले स्वस्थ नागरिकले नियमित रूपमा स्वेच्छाले गर्ने रक्तदानले संकटका बेला कसैको जीवन बचाउन महत्वपूर्ण योगदान पुर्याउने भएकाले रक्तदानलाई नियमित सामाजिक अभियानका रूपमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएको छ।






