हेटौँडा उपमहानगरले आफ्नै हेलिकप्टरबाट गर्यो हेटौंडाबासीको उद्धार

हेटौंडा । रसुवास्थित भोटेकोशीको बाढीका कारण जोखिममा परेका आफ्ना नागरिकको उद्धारका लागि हेटौँडा उपमहानगरपालिकाले सक्रियता देखाएको छ। हेटौँडा–५ पिप्ले ढुङ्गेधारा टोलका आमा निरु खड्का र उनकी छोरी निमिसा खड्कालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

बाढीका कारण जोखिममा परेका आमा–छोरीको उद्धार भएपछि उनीहरूलाई सुरक्षित स्थानमा ल्याउने व्यवस्था उपमहानगरपालिकाले गरेको हो।

उद्धार गरिएका निरु र निमिसालाई नगर प्रमुख मिनाकुमारी लामा र उपप्रमुख राजेेेश बानियाँले नुवाकोटको विदुरस्थित नेपाली सेनाको तालिम केन्द्र पुगेर रिसिभ गरेका हुन्।

आफ्ना नागरिक विपद्मा परेका बेला स्थानीय सरकार आफैँ उद्धार तथा व्यवस्थापनमा जुटेको भन्दै उपमहानगरको यो पहल महत्वपूर्ण रहेको स्थानीय समाजसेवी इन्दिरा न्यौपानेले प्रतिक्रिया दिएकी छन् ।

विपद्का बेला नागरिकको खोजी, उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरणमा स्थानीय सरकारको पहल अनुकरणीय रहेको न्यौपानेले बताइन् ।

हेटौँडा उपमहानगरको यो पहलले विपद्को समयमा स्थानीय सरकार नागरिकको साथमा छ भन्ने सन्देशसमेत दिएको छ।