भक्तपुरव्यापी व्यंग्यात्मक कार्टुन प्रतियोगिता सम्पन्न

भक्तपुर । नेमकिपाको भातृ संगठन नेपाल क्रान्तिकारी युवा संघ, भक्तपुर नगर समितिको आयोजनामा शुक्रबार दरबार स्क्वायर क्षेत्रमा विद्यालयस्तरीय भक्तपुर जिल्लाव्यापी खुला व्यंग्यात्मक कार्टुन प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा आधारभूत तहतर्फ एभरेस्ट ईङ्गलिस स्कुलका यधवी आचार्य प्रथम, प्रभात ईङ्गलिस सेकेन्डरी स्कुलका स्वपनिल बासुकला द्वितीय, एभरेस्ट ईङ्गलिस स्कुलका इच्छा बल्ल तृतीय भएका छन् ।

हिमालयन ग्लोरी ईङ्गलिस सेकेन्डरी स्कुलका अनुष खर्बुजा र एभरेस्ट ईङ्गलिस स्कुलका उत्कर्ष मल्ल ठकुरी संयुक्तरूपमा सान्त्वना स्थान हासिल गर्न सफल रहे ।

त्यसैगरी प्रतियोगिताको माध्यमिक तहतर्फ एजे सेकेन्डरी स्कुलका स्पर्श लामा प्रथम, विद्यार्थी निकेतन माविका प्रशिष घेमोसु द्वितीय, ख्वप इन्जिनियरिङ कलेजका रिजन प्रजापति तृतीय भए । 

बागिश्वरी माविका क्यारोलिन र प्राइम एकेडेमीका उत्कर्ष पान श्रेष्ठले संयुक्तरूपमा सान्त्वना पाए ।

प्रतियोगितामा विद्यार्थीहरूले समसामयिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक, शैक्षिक तथा सामाजिक विकृति विसंगतिप्रति व्यंग्य चित्र बनाएका थिए  । प्रतियोगितामा भक्तपुर जिल्लाका विभिन्न विद्यालयका गरी २ सय २० जना विद्यार्थीहरूले सहभागिता जनाएका आयोजक सस्थाका अध्यक्ष जगतराम धुख्वाले जनाएका छन् । 

प्रतियोगिताका निर्णायक बालकृष्ण बनामालाले समाजमा घटिरहेको सामाजिक आर्थिक, राजनीतिक व्यंग्यात्मक रूपमा उदाङ्ग्याउने मुख्य उद्देश्य कार्टुनको हुने र यो विधामा विद्यार्थीलाई प्रोत्साहित गर्न प्रतियोगिता सफल रहेको प्रतिक्रिया दिए ।

प्रतियोगितामा बिजेतालाई पुरस्कार वितरण गर्दै बागमती प्रदेश सांसद तथा नेमकिपाका केन्द्रीय समितिका सदस्य सिर्जना सैंजूले विद्यार्थीहरू कक्षाकोठाको सिकाइमा मात्र सिमित नभई परिवार, समाज तथा विभिन्न संघसंस्थाबाट पनि सिक्नसक्ने बताइन् । समाजमा हुने अपराध, अभाव, बेरोजगारी र  शिक्षा तथा स्वास्थ्य क्षेत्रका बिकृति र अनावश्यक करको भारले निम्तिएको समस्या विद्यार्थीले चित्रमा उतारेका उनले बताइन् । 

नकारात्मक पक्षलाई बुझ्न सक्ने विद्यार्थीले समाजलाई सकारात्मक बाटोमा जैलान सक्ने भन्दै उनले विद्यार्थीहरूले विध्वंसमा विश्वास नगरी चेतना र  सिर्जना गर्नुपर्नेमा जोड दिइन ।

कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले हजारौं शब्दले प्रष्ट पार्नुपर्ने विषयलाई एउटा व्यंग्य चित्रले सजिलै अर्थाइदिने बताए । समाजको विकृति विसंगति प्रति व्यंग्य गर्दा लैङ्गिक, जातीय विभेद प्रति सचेत हुनुपर्ने बताउँदै उनले नचाँहिदो कुरालाई रोक्न र राम्रो कामलाई प्रोत्साहित गर्न कार्टुनले प्रेरित गर्नुपर्ने प्रष्ट पारे ।