
भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीका संगठन विभाग प्रमुख वर्षमान पुन अनन्तले आगामी महाधिवेशनबाट पार्टी पुनर्गठन हुने बताएका छन्। कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन एउटै शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण गर्ने वा दुईवटा शक्तिशाली कम्युनिस्ट पार्टीबीच स्वस्थ प्रतिस्पर्धा गर्ने भन्ने विकल्पमा बहस भइरहेको उनले खुलासा गरेका छन्।
नेपाली कम्युनिस्ट पार्टी भक्तपुर जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पुनले कम्युनिस्ट पार्टीहरूबीचको निरन्तर टुटफुट, एकअर्काको अस्तित्व स्वीकार गर्न नसक्ने प्रवृत्ति र आरोप–प्रत्यारोपले समग्र कम्युनिस्ट आन्दोलन कमजोर बनेको बताए।
उनले कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउन ‘एउटै पार्टी बनाउने वा स्वस्थ प्रतिस्पर्धासहित दुई शक्तिशाली कम्युनिस्ट शक्ति निर्माण गर्ने’ विषयमा गम्भीर बहस केन्द्रीत भएको बताए।
“एउटै शक्तिशाली पार्टी बनाउने अथवा स्वस्थ प्रतिस्पर्धा गरी कम्युनिस्ट पार्टीले नै सरकार बनाउने र प्रतिपक्षमा रहने गरी कम्युनिस्टहरु अघि बढ्नुपर्छ,” पुनले भने।
नेता पुनले जेनजी विद्रोहले नेपालमा शहरी विद्रोहसमेत सम्भव रहेको देखाएको भन्दै कम्युनिस्टहरू निराश हुनुपर्ने अवस्था नरहेको बताए । सडकबाट सत्ता परिवर्तनको सुरुवात राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको दाबी गर्दै उनले त्यसको परिणाम अहिले उसैका लागि प्रत्युत्पादक बन्दै गएको टिप्पणी गरे।

‘नायकत्वले मात्र सरकार सफल हुँदैन’
पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले नायकत्वका आधारमा मात्र सरकार सफल हुन नसक्ने बताए। वर्तमान सरकारसँग देश निर्माण गर्ने स्पष्ट नीति तथा कार्यक्रम नदेखिएको दाबी गर्दै उनले जनतामा सरकारप्रति ठूलो अपेक्षा रहेको तर, त्यसलाई सम्बोधन गर्ने दिशामा सरकार अग्रसर हुन नसकेको बताए।
कम्युनिस्ट नेताकार्यकर्ताले समाजवादका विषयमा जनतालाई स्पष्ट बुझाउन सके जनमत पुनः कम्युनिस्टतर्फ फर्काउन सकिने उनको विश्वास थियो।

‘जनताको आधारभूत हकका लागि दबाब सिर्जना गर्नुपर्छ’
भूराजनीतिक प्रभाव र नेपाली जनताको ‘नायकत्वको खोजी’ वर्तमान राजनीतिक परिस्थितिको प्रमुख कारण भएको नेता पुनको भनाइ छ ।
उनले समाजवादमार्फत मात्रै जनताका आधारभूत आवश्यकता पूरा गर्न सकिने दाबी गर्दै त्यसका लागि कम्युनिस्ट पार्टी बलियो बनाउनुपर्नेमा जोड दिए।
गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारीलाई आधारभूत हकका रूपमा सुनिश्चित गर्न पार्टीले सरकार र सडक दुवै ठाउँबाट दबाब सिर्जना गर्नुपर्ने उनले बताए। साथै जनतालाई कम्युनिस्ट पार्टीमा गोलबन्द गर्नुको विकल्प नरहेको उनको भनाइ थियो।

लोकप्रियलाई नेतृत्वमा ल्याउने रणनीति
पार्टीले कार्यकर्तामाझ लोकप्रिय नेताकार्यकर्तालाई पार्टी नेतृत्वमा ल्याउने तथा जनतामाझ लोकप्रिय नेताकार्यकर्तालाई जनप्रतिनिधिका रूपमा अघि बढाउने रणनीति लिएको पुनले बताए।
उनले पार्टीका नेताकार्यकर्तालाई आफ्नो योग्यता प्रदर्शन गर्दै जिम्मेवारी बहन गर्नसमेत आग्रह गरे।

जिल्ला संयोजक श्यामसुन्दर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा पार्टीका बागमती प्रदेश इन्चार्ज डा. गङ्गालाल तुलाधर र जिल्ला इन्चार्ज डिपी ढकालले समसामयिक राजनीति तथा अर्थराजनीतिका विज्ञ सोमत घिमिरेले पार्टीको आन्तरिक सुशासनबारे प्रशिक्षण दिएका सहसंयोजक दिलकृष्ण तजले जानकारी दिए ।







