बारा । जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित सिमरा चोकमा बुधबार बिहान जेन-जी युवा र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ।
एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बुधबार बिहान साढे १० बजे बुद्ध एयरमार्फत सिमरा विमानस्थलमा अवतरण गर्ने जानकारी सार्वजनिक भएपछि जेन्जी समूहले विरोध प्रदर्शन गर्न पुग्दा स्थिति एकाएक तनावग्रस्त बनेको हो ।
विरोधका बीच जेन्जी युवाहरूले सिमरा चोकमा तयार गरिएको स्वागत द्वार नै च्यातेर भत्काएका छन्। झडप बढ्न थालेपछि सिमरा विमानस्थलदेखि सिमरा चोकसम्म ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। घटनास्थल नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
यसैबीच महासचिव पोखरेल र नेता बस्नेत भने अहिलेसम्म सिमरा आइ पुगेका छैनन्। सम्भावित थप घटनालाई मध्यनजर गर्दै स्थानीय प्रशासन उच्च सतर्कतामा बसेको देखिन्छ ।







