छात्रालाई दुर्व्यवहार गर्ने शिक्षकलाई कुट्ने वडाध्यक्ष प्रहरी नियन्त्रणमा

बारा । प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहाले एक शिक्षकलाई बन्धक बनाएर कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ ।

पर्सा बहुदरमाई घर भई हाल प्रसौनी–६ बेलहिया बस्दै आएका शिक्षक नागेश्वर यादवलाई वडाध्यक्ष कुशवाहाको समूहले वडा कार्यालयमा पाता फर्काई हाता बाँधेर कुटपिट गरेको भिडियोमा देखिन्छ ।

शिक्षक यादव स्थानीय एक कोचिङ सेन्टरका सञ्चालक समेत हुन् । घटना गत २८ साउनको हो ।

घटना लगतै पीडित शिक्षक यादवले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । परीक्षा अभ्यासका लागि प्रश्नपत्रको फोटोकपी गराइरहेको समयमा अचानक अध्यक्षको समूहले आफूलाई समातेर लगेको पीडित शिक्षकले दिएको जाहेरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ ।

जाहेरीको आधारमा प्रहरीले वडाध्यक्ष कुशवाहालाई पक्राउ गरी शरीर बन्धक तथा कुटपिट मुद्दामा कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

कुशवाहा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।  शिक्षकले छात्रामाथि दुर्ब्यवहार गरेको थाहा पाएपछि उनले ती शिक्षकलाई कार्यकक्षमा ल्याई कुटेका एक स्थानीयले बताए ।

कानुन हातमा लिएर कार्वाहीको नाममा अभद्र व्यवहार, बन्धक र कुटपिट गरेको उनीमाथि आरोप छ ।