भक्तपुरमा लागूऔषध ब्राउन सुगरका कारोबारी समातिए

भक्तपुर । मध्यपुर थिमि–३ गठ्ठाघरबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक युवकलाई नियन्त्रणमा लिएको छ । केदारचोकमा डेरा गरी बस्ने मोरङ कानेपोखरी-३ का ३० वर्षिय शरण राईलाई प्रहरीले दस ग्राम ब्राउन सुगरसहित सोमबार अपराह्न नियन्त्रणमा लिएको हो ।
 
पक्राउ परेका राई लागूऔषध कारोबारी समेत रहेका प्रहरीको आरोप छ । प्रहरी वृत्त थिमिका डिएसपी नवराज ढुङ्गानाले दिएको जानकारी अनुसार राईको साथबाट ब्राउन सुगर जोख्ने डिजिटल तराजु बरामद गरिएको छ, जसले उनी कारोबारी रहेको पुष्टि गर्दछ ।
 
लागूऔषध दुर्ब्यसनी र कारोबार नियन्त्रणका लागि प्रहरीले निरन्तर निगरानी राखिरहेको र सोहीक्रममा राई पक्राउ परेका जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक माधव बुढाथोकीले बताएका छन् ।
 
पक्राउ परेका राईलाई मंगलबार भक्तपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धानका लागि प्रहरी बृत्त थिमिमा राखिएको छ ।
 
तस्बिर : सांंकेतिक