बाबुराम दाहाल, भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले आन्तरिक राजश्व संकलनमा उल्लेखनीय प्रगति गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा नगरपालिकाले ५२ करोड ५६ लाख १ हजार ४२७ रुपैयाँ राजश्व संकलन गर्दै अघिल्लो वर्षको तुलनामा करिब ९३.४० प्रतिशत वृद्धि हासिल गरेको हो।
नगरपालिकाको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा २७ करोड १७ लाख ५८ हजार ५८५ रुपैयाँ राजश्व संकलन भएको थियो। एक वर्षमै करिब दोब्बर वृद्धि हुनु राजश्व व्यवस्थापनमा गरिएको सुधारको प्रतिफल भएको नगरपालिकाको भनाइ छ।
राजश्व प्रशासन शाखा प्रमुख रविनभक्त श्रेष्ठका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी आम्दानी घरबहाल करबाट भएको छ। यस शीर्षकबाट १२ करोड ५५ लाख रुपैयाँ संकलन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब २ करोड रुपैयाँ बढी हो।
त्यसपछि नक्सा पास दस्तुर दोस्रो ठूलो आयस्रोत बनेको छ। यसबाट १२ करोड ४८ लाख ३२ हजार रुपैयाँ राजश्व प्राप्त भएको छ, जुन अघिल्लो वर्षभन्दा ९ करोड ४१ लाख ४२ हजार रुपैयाँ बढी हो।
सम्पत्ति कर तथा भूमिकरबाट १० करोड ६० लाख २५ हजार रुपैयाँ संकलन भएको छ। यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ४ करोड ८७ लाख ९३ हजार रुपैयाँले बढी हो।
त्यस्तै अन्य सेवा तथा बिक्री शीर्षकबाट ७ करोड ७६ लाख रुपैयाँ आम्दानी भएको छ। अघिल्लो वर्ष यही शीर्षकमा करिब १ करोड रुपैयाँ मात्र संकलन भएको थियो।
नगरपालिकाले व्यवसाय करबाट २ करोड ७४ लाख रुपैयाँ तथा प्रशासनिक दण्ड–जरिवानाबाट करिब २ करोड ६० लाख रुपैयाँ संकलन गरेको छ। जरिवानाबाट भएको आम्दानी अघिल्लो वर्षको तुलनामा १ करोड ८८ लाख ८३ हजार रुपैयाँले बढी रहेको छ।
त्यसैगरी विज्ञापन करबाट एक करोडभन्दा बढी र मनोरञ्जन करबाट करिब ५० लाख रुपैयाँ राजश्व संकलन भएको शाखा प्रमुख श्रेष्ठले जानकारी दिए।
प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले राजश्वसम्बन्धी नीति, प्रभावकारी समन्वय, नियमित अनुगमन तथा प्रशासनिक सुधारका कारण राजश्व संकलनमा उल्लेखनीय सफलता प्राप्त भएको बताए।
राजस्व परामर्श समितिका संयोजक तथा उपप्रमुख विजयकृष्ण श्रेष्ठले पछिल्ला चार वर्षमा राजश्व प्रशासनलाई व्यवस्थित बनाउँदै विभिन्न सुधारका कार्यक्रम लागू गरिएको बताए।
व्यवसाय दर्ता अभियान, अनलाइन राजश्व भुक्तानी प्रणाली, सम्पत्ति कर किस्ताबन्दीमा तिर्न सकिने व्यवस्था, मापदण्डअनुसार बनेका घरको नक्सा नियमितीकरण तथा अभिलेखीकरण, घरबहाल करमा सहुलियत र अन्य छुट सुविधाले करदाताको सहभागिता बढाएको उनको भनाइ छ।
उनका अनुसार वर्तमान जनप्रतिनिधिले कार्यभार सम्हालेको पहिलो आर्थिक वर्ष २०७८/७९ मा नगरपालिकाले १८ करोड ४५ लाख ९४ हजार रुपैयाँ मात्र राजश्व संकलन गरेको थियो। चार वर्षको अवधिमा उक्त रकम बढेर ५२ करोड ५६ लाख रुपैयाँ नाघ्नु नगरपालिकाको महत्त्वपूर्ण उपलब्धि भएको उनले बताए।
नगर प्रमुख सुरेन्द्र श्रेष्ठले करको दर नबढाई करदाताको दायरा विस्तार गर्ने नीतिका कारण आन्तरिक आय उल्लेखनीय रूपमा बढेको बताए। आन्तरिक स्रोत बलियो बन्दा नगरपालिकाले विकास निर्माणका योजना तथा कार्यक्रम अझ प्रभावकारी, दिगो र आत्मनिर्भर ढंगले अघि बढाउन सक्ने उनले बिश्वास व्यक्त गरेका छन् ।







