मध्यपुरमा एकल महिलालाई मनोसामाजिक र कानुनी प्रशिक्षण

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले एकल महिलाहरूका लागि मनोसामाजिक तथा कानुनी अधिकार सम्बन्धी प्रशिक्षण सम्पन्न गरेको छ।

नगरपालिकाको महिला, बालबालिका तथा सामाजिक समावेशिकरण शाखाले आयोजना गरेको प्रशिक्षण नगरका सबै १ देखि ९ वडासम्मका एकल महिलालाई लक्षित थियो।

शाखा प्रमुख रजिया चौधरीका अनुसार तालिमले सहभागी महिलाहरूलाई मनोसामाजिक परामर्श तथा कानुनी अधिकारबारे स्पष्ट बुझाइ प्रदान गर्ने उद्देश्य राखिएको थियो।

मनोसामाजिक परामर्शका विषयमा मनोपरामर्शदाता तथा अध्यापक अमिना श्रेष्ठले प्रशिक्षण दिएकी थिइन् भने कानुनी अधिकारका बारेमा अधिवक्ता कविता पाँडेको विशेष सत्र रहेको शाखाकी साबित्रा भट्टराईले जानकारी दिइन्।

सामाजिक विभेद, एकल तथा विधवा महिलामाथि हुने हिंसा र त्यसले पार्ने मानसिक प्रभावलाई न्यूनीकरण गर्न यस्तो तालिम अत्यन्त आवश्यक रहेको शाखा प्रमुख चौधरीले बताइन्।

प्रशिक्षणमा सहभागी महिलाहरूले मनोसामाजिक तालिम आफ्नो दैनिक जीवनका लागि उपयोगी रहेको प्रतिक्रिया दिए। उनीहरूले आगामी दिनमा मानसिक स्वास्थ्य तथा जनचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गर्न सुझाव पनि दिएका छन्।

यो कार्यक्रम मध्यपुर थिमि नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत एकल महिला लक्षित पहिलो कार्यक्रम हो । यसपछि थप कार्यक्रम गर्दैजाने नगरपालिले जनाएको छ । यस्ता कार्यक्रमले महिला सशक्तीकरणमा सहयोग पुग्ने बिश्वास व्यक्त गरिएको छ ।