आज श्रीकृष्ण जन्माष्टमी, देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीहरूले आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी ‘श्रीकृष्णजन्माष्टमी’ पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको विश्वासका आधारमा आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भन्ने गरिन्छ।

जन्माष्टमीका अवसरमा देशभरिका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको विशेष पूजा, प्रवचन र भजन कीर्तन गरिँदै छ । यस दिन विशेष गरी महिला तथा पुरुषहरू ‘व्रत’ बस्ने र रातभर जाग्राम बसेर भगवान्को भक्ति गर्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानव जातिलाई जोगाउन भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रहन र सत्कर्म गर्न मानव समुदायलाई प्रेरित गरेका थिए ।

कुरुक्षेत्रमा कौरवसँगको युद्धका क्रममा पाण्डव पुत्र अर्जुनलाई श्रीकृष्णले दिएको उपदेश नै पवित्र ग्रन्थ ‘श्रीमद्भागवतगीता’ हो । विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको मानिने यो ग्रन्थले कर्मको महत्त्वलाई दर्शाएको छ । बाल्यकालदेखि नै अनेकौँ लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थहरूमा उल्लेख छ ।

यस विशेष अवसरमा ललितपुरको पाटन मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्ने गर्छ । यस्तै, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधामका साथै देशभरका साना–ठुला श्रीकृष्ण मन्दिरहरूमा भक्तजनको उल्लेख्य उपस्थिति हुने गरेको छ ।

धार्मिक सङ्घसंस्थाहरूले श्रीकृष्णको झाँकीसहित शोभायात्रा र रथयात्रा निकाल्ने तयारी समेत गरेका छन् । जन्माष्टमी पर्वकै अवसरमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।