विपद्मा परेका बालबालिकाको फोटो/भिडियो सार्वजनिक भइरहेकोबारे प्रहरीले गर्‍यो ७ बुँदे अनुरोध

काठमाडौँ। प्रहरी प्रधान कार्यालयले भोटेकोशी नदीमा आएको बाढीपछिको प्राकृतिक विपद्मा परेका बालबालिकाहरूको फोटो तथा भिडियो सामाजिक सञ्जालमा जथाभावी सार्वजनिक भइरहेको प्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रहरीले यस्ता सामग्रीले बालबालिकाको गोपनीयता, आत्मसम्मान र मानसिक अवस्थामा दीर्घकालीन नकारात्मक असर पार्ने भन्दै ७ बुँदे विशेष अनुरोध गरेको हो।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा विपद्, दुर्घटना वा हिंसाबाट प्रभावित बालबालिकाहरूको सामग्री प्रकाशन वा प्रसारण गर्दा उनीहरूको मानसिक अवस्थामा थप चोट नपुग्ने गरी विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रहरीले पीडित बालबालिकाको नाम, ठेगाना, विद्यालय, परिवारको विवरण वा अनुहार खुल्ने कुनै पनि विवरण सार्वजनिक नगर्न र त्यस्ता विवरण लुकाउने व्यवस्था मिलाउन सरोकारवालाहरूलाई सचेत गराएको छ।

विज्ञप्तिमा बालबालिकाको असहाय वा रोइरहेको अवस्था देखाएर सामग्री ‘भाइरल’ गर्ने, सहानुभूति बटुल्ने वा आर्थिक सहयोग जुटाउने उद्देश्यले उनीहरूको आत्मसम्मानमा ठेस पुर्‍याउने कार्य नगर्न समेत भनिएको छ। मानसिक रूपमा प्रभावित बालबालिकासँग पटक-पटक अन्तर्वार्ता लिने वा घटना सम्झन बाध्य पारेर पीडाको पुनः प्रदर्शन हुने किसिमका कार्य नगर्न पनि प्रहरीले ध्यानाकर्षण गराएको छ।

त्यसैगरी, बालबालिकाको पहिचान खुल्ने तस्बिर वा डिजिटल सामग्रीलाई अनुमति र संवेदनशीलता विना प्रसारण, सम्पादन वा ‘मिम’ बनाएर प्रयोग नगर्न प्रहरीको आग्रह छ। विपद्को समयमा फोटो वा भिडियो खिच्नु भन्दा बालबालिकाको उद्धार, सुरक्षा, उपचार र संरक्षणलाई पहिलो प्राथमिकता दिनुपर्ने विषयमा विज्ञप्तिले जोड दिएको छ।

सामाजिक सञ्जालमा प्राप्त हुने यस्ता संवेदनशील सामग्रीको सत्यता र गम्भीरता नबुझी शेयर, रिपोस्ट वा फर्वार्ड नगर्न सर्वसाधारणलाई अनुरोध गर्दै प्रहरीले बालबालिकाको हित विपरीतका सामग्री थप प्रसार नगर्न भनेको छ।

प्रचलित कानुन, पत्रकार आचारसंहिता तथा बाल मैत्री सञ्चार निर्देशिका, २०७३ को पालना गर्न आग्रह गर्दै नेपाल प्रहरीले बालबालिकाको सुरक्षा र गोपनीयता सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ।