गोलि प्रहारबाट गयो शिक्षकको ज्यान

सङ्खुवासभा । मकालु गाउँपालिका–१ चिर्खाङमा भरुवा बन्दुकको गोली प्रहारबाट एक शिक्षकको हत्या भएको छ।

कालिका आधारभूत विद्यालयका ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राईको बिहीबार साँझ करिब ७ बजे विद्यालय नजिकै गोली प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डीएसपी कुमारप्रसाद मैनालीले बताएका छन् ।

खाना खाएपछि भाँडा माझ्न बाहिर निस्किएका राई गोली लागि भुइँमा लडिरहेको अवस्थामा भेटिएका थिए। उनको देब्रे कोखमा गोली लागेको थियो।

घटनाबारे विद्यालयकै शिक्षिका टिकामाया राईले प्रहरीलाई खबर गरेकी थिइन्। गोली कसले र किन प्रहार गर्‍यो भन्ने खुलेको छैन। घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङनागढीबाट करिब छ घण्टाको पैदल दूरीमा रहेको छ। घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान अघि बढाएको बताइएको छ ।