भक्तपुरमा सबै पालिकाको बजेट सार्वजनिक

भक्तपुर । भक्तपुरको चारवटै नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को आय व्यय विवरण (बजेट) सार्वजनिक गरेका छन् । बुधवार आ-आफ्ना नगर सभामा उप प्रमुखहरुले बजेट प्रस्तुत गरेका हुन् ।

जिल्लाकै जेठो भक्तपुर नगरपालिकामा उप प्रमुख रजनी जोशीले आ.व. २०८३।८४ को लागि २ अर्ब ५५ करोड रुपैयाँको बजेट प्रस्तुत गरिन् । विनियोजित बजेटमा चालुतर्फ १ अर्ब ५५ करोड ८९ लाख अर्थात् ६१.१३ प्रतिशत र पूँजिगततर्फ ९३ करोड ३१ लाख अर्थात् ३६.६० प्रतिशत तथा वित्तीयतर्फ ५ करोड ८० लाख (२.२७ प्रतिशत) विनियोजन गरिएको छ ।

सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईले आगामी आर्थिक वर्षका लागि २ अर्व २६ करोड रुपैयाको बजेट प्रस्तुत गरेकी छन् । प्रस्तुत बजेटको चालु तर्फ ४२ दशमलव ८५ प्रतिशत अर्थात् ९६ करोड ८५ लाख ८२ हजार रुपैयाँ बिनियोजन गरिएको छ । पूँजिगततर्फ ५७ दशमलव १४ प्रतिशत अर्थात् १ अर्ब २९ करोड १४ लाख १८ हजार रुपैयाँ राखिएको छ ।

त्यस्तैगरी मध्यपुर थिमि नगरपालिकाको लागि उपप्रमुख बिजयकृष्ण श्रेष्ठले ३ अर्व ७१ करोड ८७ लाख ४१ हजार रुपैयाको बजेट प्रस्तुत गरेका छन् । बजेटको यो आकार अन्य तीन पालिकाको भन्दा बढी हो । प्रस्तुत बजेटको ६० प्रतिसत पूँजिगत र ४० प्रतिसत चालु खर्च बिनियोजन गरिएको छ ।

कान्छो पालिकाको रुपमा रहेको चाँगुनारायण नगरपालिकामा उपप्रमुख रमेश बुढाथोकीले आगामी आ.व. को लागि कूल बजेट. २ अर्व ४ करोड ४५ हजार रुपैयाँको बजेट प्रस्तुत गरे । जिल्लाका अन्य पालिकाको तुलनामा यो बजेट आकारमा सबैभन्दा सानो हो । बजेटमा चालु, पूँजिगत र वित्तीय तर्फ बिनियोजन गरिएको रकम बजेटमा उल्लेख गरिएको छैन । बिनियोजन बिधेयक बन्न नसकेको कारण यसमा अस्पष्टता रहेको बताइएको छ ।

यस्तो छ आन्तरिक आयको अनुमान
सबै पालिकाले आन्तरिक श्रोत, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँड र बिभिन्न अनुदान, चालु आर्थिक वर्षको बैंक मौज्दातबाट बजेट व्यवस्थापन गरिने बताएका छन् ।
बजेटमा आन्तरिक श्रोतबाट हुने आयलाई सबै पालिकाले पहिलो महत्व दिएका देखिन्छन । यस अन्तर्गत राजस्व, सेवा शुल्क र दस्तुरहरु पर्दछन ।

भक्तपुर नगरपालिकाले आन्तरिक श्रोतबाट ६९ करोड २० लाख रुपैयाँ आम्दानी गरिने अनुमान गरेको छ । सूर्यविनायक नगरपालिकाले ९७ करोड ३८ लाख ७० हजार ९ सय ७५ रुपैयाँ आन्तरिक आय हुने अनुमान गरेको छ । मध्यपुर थिमि नगरपालिकाले आन्तरिकतर्फ ४९ करोड रुपैयाँ आय हुने अनुमान गरेको छ भने चाँगुनारायण नगरपालिकाले ३४ करोड ६ लाख २० हजार रुपैयाँ आन्तरिक श्रोतबाट आय सुनिश्चित हुने अनुमान गरेको छ ।

मध्यपुरको प्रशासनीक खर्च कम
मध्यपुर थिमि नगरपालिकाले सबैभन्दा कम प्रशासनिक तथा कार्यालय सञ्चालन खर्च छुट्याएको छ । मध्यपुर थिमिले यस शिर्षकमा ३१ करोड रुपैयाँ छुट्याएको हो ।

सूर्यविनायक नगरपालिकाले प्रशासनिक तथा कार्यालय संचालन खर्च ४६ करोड प्रक्षेपण गरेको छ । अन्य पालिकाको तुलनामा यो बढी हो ।

चाँगुनारायण र भक्तपुर नगरपालिकाको बजेटमा प्रशासनिक तथा कार्यालय संचालन खर्च ३५ करोड रुपैयाँ हुने अनुमान गरिएको छ ।

शिक्षा र स्वास्थ्य प्रमुख प्राथमिकता
सबै नगरपालिकाले शिक्षा र स्वास्थ्यमा बजेटको ठुलो हिस्सा लगाएका छन् ।
भक्तपुर नगरपालिकाले भक्तपुरलाई उत्कृष्ट शैक्षिक गन्तब्य बनाउने उद्घोषसहित आफूले संचालन गर्दै आएको शैशिक संस्थालाई बजेटमा निरन्तरता दिंदै ख्वप मेडिकल कलेजको स्थापनाका लागि पनि बजेट छुट्याएको छ । साथै, इतिहास, भूगोल,सस्कृती, अर्थशास्त्र, दर्शनशास्त्र र राजनीति शास्त्र पढ्न चाहने नगरवासीलाई उच्च शिक्षामा पूर्ण छात्रवृत्ति दिने बजेटमा उल्लेख छ । भक्तपुर नगरपालिकाले नगर अस्पतालमा आगामी आवबाटै एमआरआइ र आइसीयु सेवा संचालन गर्न २३ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

मध्यपुर थिमि नगरपालिकाले बजेटको मुख्य उदेश्यमा निशुल्क स्वास्थ्य र गुणस्तरीय शिक्षाको पूर्ण सुनिश्चितता गर्ने संकल्प गरेको छ । यसका लागि ४६ करोड बढी रकम बिनियोजन गरिएको छ । सूर्यविनायक नगरपालिकाले बजेटको प्रमुख उदेश्यमै गुणस्तरीय विद्यालय शिक्षा सुनिश्चित गर्दै मावि तहमा दैनिक जीवनमा आवश्यक जीवनोपयोगी सीप सिकाइने उदेश्य लिएको छ भने आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ र सबैको पहुँचमा पुर्याइने प्रष्ट पारेको छ । त्यसैगरी चाँगु नारायण नगरपालिकाले रोजगारमूलक शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने लक्ष लिएको छ ।

भौतिक पूर्वाधारतर्फ
भौतिक पूर्वाधारतर्फ भक्तपुर नगरपालिकाले पूर्वाधार निर्माणमा ३५ करोड बिनियोजन गरेको छ । यसमा अरनिको सभाहल, हनुमन्ते र कासन खोला सुधार र कारिडोर निर्माण त्यसैगरी लिवाली र देकोमिवा इतापाके आवास योजना क्षेत्रका बाकी काम पुरा गर्ने लगायत रहेका छन् ।

मध्यपुर थिमिले भौतिक पूर्वाधारमा सर्वाधिक १ अर्व १८ करोड बढी रकम छुट्याएको छ । त्यस्तै यस शिर्षकमा चाँगुनारायणले नगर गौरवको आयोजनाको रुपमा माधव नारायण मार्ग योजनाको लागि मात्र ७ करोड छुट्याएको छ । प्रत्येक वडालाई २ करोडका दरले १८ करोड दिने बजेटमा उल्लेख छ । सूर्यविनायक नगरपालिकाले भने नगर प्रमुख उज्यालो नागर कार्यक्रम, सूर्यविनायक बृहत्तर खानेपानी आयोजना, नदी र कुलोको बहाव व्यवस्थापन लगायत यस अघि थालिएका भौतिक पूर्वाधारका काम पूरा गर्नेगरी बजेट केन्द्रीत गरेको उल्लेख गरिएको छ ।

चाँगुनारायणले सम्झियो जेनजी आन्दोलन
बजेट प्रस्तुत गर्नेक्रममा जिल्लाको कान्छो नगरपालिका चाँगुनारायणका उपप्रमुख रमेश बुढाथोकीले जेनजी आन्दोलनका शहीदलाई सम्झिएका छन् । मध्यपुर थिमि नगरपालिकाको उपप्रमुख बिजय कृष्ण श्रेष्ठले सशस्त्र जनयुद्धको शहीदलाई समेत सम्झिएका छन् ।

सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईले संघी रय लोकतान्त्रिक गणतन्त्र स्थापनाको र जनअधिकार प्राप्तिका लागि लागि शहीद भएका सबैलाई सम्झिएकी छन् । त्यस्तै, उपप्रमुख रजनी जोशीले नेमकिपाको सिद्धान्त र यसका अध्यक्ष नारायणमान बिजुक्छेँले देखेको सय वर्षपछिको भक्तपुरलाई पनि मार्गनिर्देशन मानेकी छन् ।