जर्मनीलाई स्तब्ध पार्दै इक्वेडर, कुरासाओलाई हराउँदै आइभरी कोस्ट नकआउट चरणमा

काठमाडौं । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।

अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा भएको खेलमा उपाधि दावेदार जर्मनीलाई २-१ ले हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको हो । सुरुवाती अग्रता जाेगाउन नसक्दा जर्मनी पराजित हुन पुग्याे । जर्मनीले खेलमा दोस्रो मिनेटमा गोल गर्दै अग्रता लिएको थियो ।

लेरोय सानेले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । तर, खेलको नवौं मिनेटमा निल्सन एङ्गुलोले गोल गर्दै इक्वेडरलाई बराबरीमा फर्काए । खेलको ७७औं मिनेटमा इक्वेडरले गोल गर्दै अग्रता लियो ।

गोन्जालो प्लाटाले इक्वेडरलाई अग्रता दिलाए । त्यसपछि गाेल नहुँदा इक्वेडरले शानदार जित निकाल्याे । समूह ‘इ’ मा इक्वेडरसँग पराजित भएको जर्मनी विजेता र आइभोरी कोस्ट उपविजेता बन्दै नकआउटमा प्रवेश गर्दा इक्वेडर तेस्रो भएका टोलीमध्ये उत्कृष्ट ८ मा पर्दै नकआउट चरणमा पुगेको हो ।

जर्मनी र आइभोरी कोस्टले समान ६ अंक जोड्दा इक्वेडरले ४ अंक बनायो । एक अंक जोडेको कुरासाओ प्रतियोगिताबाट बाहिरियो । शुक्रबार बिहान भएको खेलमा आइभरी कोस्टले कुरासाओविरुद्ध २–० गोलअन्तरको जित निकालेको हो ।

खेलमा आइभरी कोस्टका लागि दुवै गोल निकोलस पेपेले गरे । उनले खेलको ७ औं र ६४ औं मिनेटमा गोल गरेका हुन् ।