कृष्णभिरको सडक अवरुद्ध : कुन सवारी कुन रुटबाट काठमाडौं जाने ?

काठमाडौं । धादिङको कृष्णभिरमा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौं उपत्यका प्रवेश तथा बाहिरिने सवारी साधनका लागि वैकल्पिक मार्ग तोकिएको छ।

मुख्य राजमार्ग बन्द भएपछि मकवानपुरतर्फ जाने सवारीको संख्या बढ्दा त्यहाँका सडकमा समेत चाप बढ्न थालेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ। यात्रुको आवागमन व्यवस्थापन गर्न सवारीको प्रकृति र क्षमताअनुसार फरक–फरक मार्ग प्रयोग गर्न भनिएको छ।

प्रशासनका अनुसार मालबाहक सवारी साधनले कान्ती लोकपथ प्रयोग गरी काठमाडौं आवतजावत गर्नुपर्नेछ।

त्यस्तै, १४ सिटभन्दा बढी क्षमताका यात्रुबाहक सवारी साधनलाई त्रिभुवन राजपथ हुँदै काठमाडौं जाने र फर्कने व्यवस्था गरिएको छ।

१४ सिटभन्दा कम क्षमताका यात्रुबाहक सवारी साधनले भने भीमफेदी–देउराली सडकखण्ड प्रयोग गर्नुपर्नेछ। प्रशासनले यी वैकल्पिक मार्गमा सवारी सञ्चालन गर्दा ट्राफिक व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको छ।

वैकल्पिक सडकमा सवारीको चाप बढ्न सक्ने भएकाले प्रशासनले अत्यावश्यक कामबाहेक तत्काल काठमाडौं यात्राको योजना नबनाउन समेत सर्वसाधारणलाई अनुरोध गरेको छ।

सवारी चालक तथा यात्रुलाई सडकमा संयमित भएर यात्रा गर्न, ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीको निर्देशन पालना गर्न र सडक अनुशासन कायम राख्न प्रशासनले आग्रह गरेको छ।

यसैबीच, पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा पहिरोका कारण क्षतिग्रस्त सडकको अवस्थाबारे सडक विभागले प्राविधिक अध्ययन गरिरहेको छ। अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा सडक मर्मत तथा पुनर्निर्माणको काम अघि बढाइने र त्यसको समयसीमा तय हुने बताइएको छ।

कृष्णभिर क्षेत्रमा यसअघि पनि पटक–पटक पहिरो जाने समस्या देखिँदै आएको थियो। पछिल्लो अवरोधका कारण पृथ्वी राजमार्ग हुँदै काठमाडौं आवतजावत गर्ने यात्रु तथा सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको छ।