
काठमाडौं । भदौ १० को भोटेकोशी जलप्रकोपमा आफ्नो श्रीमान गुमाएकी राष्ट्रिय समाचार समिति (रासस)की पत्रकार कालिका खड्कालाई भेटेर नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानले समवेदना प्रकट गरेका छन् ।
भद्रकालीस्थित राससको केन्द्रीय कार्यालयमा राजदूत खानले खड्काका श्रीमान् तथा पत्रकार टेकराज थामी भोटेकोशी बाढीमा बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरे । उनले कठिन परिस्थितिमा धैर्य र संयम अपनाउनुको बिकल्प नभएको बताए ।
राजदूत खानले खड्काको पारिवारिक अवस्थाबारे जानकारी लिँदै आवश्यक सहयोगका लागि पाकिस्तान तयार रहेको समेत प्रष्ट पारे । पाकिस्तानमा धेरै नेपाली युवाले छात्रवृत्ति प्राप्त गरेका उल्लेख गर्दै उनले खड्काकी छोरीको शिक्षामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
खड्काको श्रीमान थामी नयाँ पत्रिका दैनिकमा कार्यरत थिए । अपराध अनुसन्धान, न्याय र सामाजिक बीटमा रिपोर्टिङ गर्ने उनी नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत हुन् । केरुङको एक कार्यक्रममा सहभागी हुन रसुवातर्फ गएका उनी बाढीपछि बेपत्ता छन् । बेपत्ता भएको २४ दिनपछि शनिबार परिवारले पशुपतिको आर्यघाटमा कुशको शव बनाइ अन्तिम संस्कार सम्पन्न गरेको छ । थामीको श्रीमती र एक छोरी छन् ।
शोकको समयमा अभिभावकत्व गर्न नसकेका भन्दै सञ्चार मन्त्री डा बिक्रम तिमिल्सिनाको आलोचना भइरहँदा पाकिस्तानको तर्फबाट पत्रकारको पीडामा मलहम लगाउने कार्य सकारात्मक रहेको एक राससकर्मीले प्रतिक्रिया दिएका छन् ।
खड्कालाई भेट्न रासस पुगेका पाकिस्तानी राजदूत खानले रासस संग्रहालयको समेत अवलोकन गरेका थिए । उनले रासससंग सहकार्यको प्रस्ताव अघि सारे । सो अवसरमा राससका महाप्रबन्धक सन्दीप राई लगायतले सहकार्यको प्रस्ताव सकारात्मक रहेको प्रतिक्रिया दिए ।
जलवायु न्यायका विषयमा नेपालसँग ऐक्यबद्धता जनाउँदै राजदूत खानले विश्व समुदायसंग मिलेर सहयोग र सहकार्य गर्ने पाकिस्तानको प्रतिबद्धता दोहोर्याएका थिए ।







