
काठमाडौ । पाकिस्तानको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासमा झण्डोत्तोलन समारोह आयोजना गरिएको छ।
समारोहमा नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले राष्ट्रिय झण्डा फहराएका थिए। कार्यक्रममा नेपालमा रहेका पाकिस्तानी समुदायका सदस्य, नेपाली मित्र तथा दूतावासका अधिकारी र उनीहरूका परिवारका सदस्यको सहभागिता थियो।
समारोहमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी, प्रधानमन्त्री मुहम्मद शाहबाज शरीफ तथा उपप्रधानमन्त्री एवं विदेशमन्त्री मोहम्मद इशाक डारले स्वतन्त्रता दिवसका अवसरमा जारी गरेका सन्देश वाचन गरिएको थियो।
राष्ट्रपति जरदारीले १४ अगस्ट पाकिस्तान निर्माणका लागि भएको ऐतिहासिक संघर्ष र बलिदान सम्झने दिन भएको उल्लेख गर्दै पाकिस्तानका संस्थापक कायदे आजम मुहम्मद अली जिन्नाहलगायत पाकिस्तान आन्दोलनका नेता तथा कार्यकर्ताप्रति सम्मान व्यक्त गरेका छन्।
उनले स्वतन्त्रता ऐतिहासिक उपलब्धि मात्र नभई जिम्मेवारीसमेत भएको बताए। क्षेत्रीय शान्ति र स्थायित्वका लागि संवाद तथा तनाव न्यूनीकरणमा पाकिस्तानले आफ्नो भौगोलिक अवस्थिति, सञ्चार माध्यम र कूटनीतिक प्रभाव प्रयोग गर्दै आएको उनको सन्देशमा उल्लेख छ।
प्रधानमन्त्री शाहबाज शरीफले चुनौतीका बाबजुद पाकिस्तानको राष्ट्रिय विकास र समृद्धिको यात्रा उज्ज्वल भविष्यतर्फ अघि बढिरहेको बताएका छन्। उनले हरेक कठिन परिस्थितिमा पाकिस्तानी सशस्त्र सेनाले मातृभूमिको रक्षा गर्न आफ्नो क्षमता प्रदर्शन गरेको उल्लेख गर्दै पाकिस्तानलाई दृढ, सम्मानित र शान्तिको पक्षधर राष्ट्रका रूपमा प्रस्तुत गरेका छन्।
दक्षिण एसियामा स्थायी शान्तिका लागि जम्मु–कश्मीर विवादको कूटनीतिक समाधान आवश्यक रहेको प्रधानमन्त्री शरीफको सन्देशमा उल्लेख छ। उनले संयुक्त राष्ट्रसंघका सम्बन्धित प्रस्ताव, अन्तर्राष्ट्रिय कानुन तथा कश्मीरी जनताको आकांक्षाका आधारमा विवाद समाधान हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
उपप्रधानमन्त्री एवं विदेशमन्त्री इशाक डारले स्वतन्त्रतापछि पाकिस्तानले विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको बताएका छन्। उनले राष्ट्रिय एकता, विश्वास र अनुशासनका सिद्धान्तलाई आत्मसात गर्दै पाकिस्तानको सार्वभौमसत्ता, सुरक्षा र भौगोलिक अखण्डताको संरक्षणप्रति प्रतिबद्धता दोहोर्याएका छन्।
समारोहमा बोल्दै राजदूत मोहम्मद आमिर खानले सन् १९४७ को ऐतिहासिक संघर्ष र स्वतन्त्रताका लागि पूर्वजहरूले गरेको बलिदानको स्मरण गरे। उनले पश्चिम एसियामा तनाव न्यूनीकरणका लागि पाकिस्तानले खेलेको कूटनीतिक भूमिकाले विश्वस्तरमा सकारात्मक प्रभाव पारेको दाबी गरे।
राजदूत खानले शान्ति र प्रगतिप्रति पाकिस्तान प्रतिबद्ध रहेको बताउँदै चुनौतीका बेला राष्ट्र एकताबद्ध भएर अघि बढ्ने उल्लेख गरे। साथै, नेपाल र पाकिस्तानबीच शताब्दीयौँ पुराना सभ्यतागत सम्बन्ध, ऐतिहासिक सम्बन्ध तथा साझा मूल्यका आधारमा द्विपक्षीय कूटनीतिक तथा आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउन पाकिस्तान प्रतिबद्ध रहेको बताए।
पाकिस्तानी दूतावासले नेपाल र पाकिस्तानबीचको सम्बन्धलाई आगामी दिनमा थप विस्तार गर्दै व्यापार, कूटनीति तथा पारस्परिक हितका क्षेत्रमा सहकार्य बढाउने प्रतिबद्धता पनि जनाएको छ।







