बाढीले भत्कायो दुई हप्ता लगाएर सुस्तावासीले बनाएको बाँध, वस्ती जोखिममा

काठमाडौं । नवलपरासीले सुस्तावासीले दुई हप्ता लगाएर निर्माण गरेको बाँध बाढीले भत्काएको छ । सुस्ता बचाउ संघर्ष समितिका संयोजक बाबु खानले सुस्ता गाउँपालिका ५ को थारुटोलामा बनेको बाँध शुक्रबार बाढीले बगाएको बताए ।

‘२५–३० लाख जतिको श्रमदानबाट हामीले १०–१५ दिन लगाएर बनाएको बाँध हिजो रातीको बाढीले भत्कायो ।’ खानले भने, ‘सुस्तावस्ती नै अहिले जोखिममा छ ।’

सुस्ता जोगाउन संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाले पहल गर्नुपर्ने खानको माग छ । पुरै बस्ती नै खतरामा छ रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए। उनी भन्छन्, ‘बाँध त भत्कियो नै पुरै बस्ती खतरामा छ । सरकारको बेलैमा ध्यान जाओस् ।’

नवलपरासीको सुस्तामा नेपाल र भारतबीच सीमा विवाद छ । यो क्षेत्रमा भारतले सीमा अतिक्रमण गरेको स्थानीयवासी बताउँछन् । १५ साउनदेखि निर्माण शुरु भएको बाँध भत्किँदा कतैबाट गुहार नपाएको खान बताउँछन् ।