काठमाडौ। अफगानिस्तानले पाकिस्तानमा उग्रवादीको अखडा रहेको र त्यसलाई लक्षित गरी हवाई आक्रमण गरेको दाबी गरेको छ भने सो दावेर पाकिस्तानले अस्वीकार गरेको छ।
पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै अफगानिस्तानले खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा रहेका कथित इस्लामिक स्टेट खोरासान (आईएसकेपी) का शिविरमाथि ड्रोन आक्रमण गरेको भन्ने दाबीलाई ‘भ्रामक र झुटो प्रचार’ भनेको हो ।
मन्त्रालयका अनुसार अफगानिस्तानबाट उडाइएको एउटा ड्रोन पाकिस्तानको खैबर जिल्लाको हवाई क्षेत्रमा प्रवेश गरेको थियो, जसलाई पाकिस्तानी वायु सेनाको हवाई प्रतिरक्षा प्रणालीले तत्काल पहिचान गरी निष्क्रिय बनाएको थियो।
दुवै देशले एकअर्काको भूमिबाट उग्रवादी समूह सञ्चालन भइरहेको आरोप लगाउँदै आएका छन्। पाकिस्तानले अफगानिस्तानले सीमा क्षेत्रमा सक्रिय उग्रवादीलाई संरक्षण दिएको आरोप लगाउँदै आएको छ भने अफगानिस्तानले ती आरोप अस्वीकार गर्दै आएको छ।
पछिल्ला महिनाहरूमा सीमा क्षेत्रमा भएका हवाई आक्रमण, ड्रोन गतिविधि र सुरक्षा घटनाले दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ।







