यस वर्ष ६ दिन ढिलो कोशी प्रदेशबाट नेपाल भित्रियो मनसुन, आज कहाँ-कहाँ हुन्छ वर्षा ?

काठमाडौँ । नेपालमा यस वर्षको मनसुन प्रणाली शुक्रबार (असार ५ गते) कोशी प्रदेशको केही भू–भागमा प्रवेश गरेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले शुक्रबार जारी गरेको सूचना अनुसार मनसुन हाल कमजोर अवस्थामा रहेको छ भने देशका अन्य भू–भागमा फैलिन अझै केही दिन लाग्ने देखिएको छ।

महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार नेपालको पूर्वी भू–भागबाट मनसुन भित्रिने औसत मिति जुन १३ (जेठ ३० गते) हो। तर यस वर्ष मनसुन औसत समयभन्दा ६ दिन ढिलो गरी जुन १९ (असार ५ गते) नेपाल प्रवेश गरेको हो।

हाल कोशी प्रदेशका केही क्षेत्रमा मात्रै मनसुनी प्रभाव देखिएको छ। आगामी दिनमा मनसुनी प्रणाली क्रमशः सक्रिय हुँदै देशका अन्य भागमा समेत विस्तार हुने अपेक्षा गरिएको महाशाखाले जनाएको छ।

आज दिउँसो देशका हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा पनि साधरणतया बादल लाग्नेछ । मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ । अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशका हिमाली र पहाडी भू(भागका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।

कोशी प्रदेशका तराई भूभागका केहि स्थानमा तथा मधेस प्रदेशका एक(दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू(भागका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भू(भागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा साधरणतया बादल लाग्नेछ । मधेस प्रदेश र अन्य हिमाली र पहाडी भूभागमा आंशिक बादल तथा अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू(भागका केही स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

मधेस प्रदेशमा एक–दुई स्थान र कोशी प्रदेशको तराईका केहि स्थानहरूमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।