काठमाडौंमा मनाइयो पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस

Pakistan embassy

काठमाडौं । पाकिस्तानको ८६औँ राष्ट्रिय दिवसको अवसरमा आज काठमाडौंस्थित पाकिस्तान दूतावासमा ध्वजारोहण कार्यक्रम सम्पन्न भएको छ। नेपालका लागि पाकिस्तानका राजदूत एच.ई. अब्रार एच. हाश्मीले दूतावास परिसरमा राष्ट्रिय झण्डा फहराएका थिए।

उक्त अवसरमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी, प्रधानमन्त्री मोहम्मद शहबाज शरीफ तथा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मोहम्मद इशाक डारका सन्देश वाचन गरिएको थियो।

राष्ट्रपति जरदारीले आफ्नो सन्देशमा राष्ट्रिय दिवसले एकता र ऐक्यबद्धताको महत्व सम्झाउने उल्लेख गर्दै कानूनको शासन सुदृढ गर्ने, लोकतान्त्रिक संस्थालाई मजबुत बनाउने, असमानता न्यूनीकरण गर्ने, महिलालाई सशक्त बनाउने तथा आतंकवाद र अतिवाद अन्त्य गर्ने दिशामा प्रतिबद्ध हुनुपर्ने बताएका थिए।

त्यस्तै, प्रधानमन्त्री शहबाज शरीफले मार्च २३ दक्षिण एसियाली इतिहासमा महत्वपूर्ण माइलस्टोन भएको उल्लेख गर्दै क्षेत्रीय शान्ति, संवाद र पारस्परिक सम्मानमार्फत स्थायित्व कायम गर्न पाकिस्तान प्रतिबद्ध रहेको बताएका थिए।

उनले जम्मु–कश्मीर समस्याको न्यायोचित समाधानविना दक्षिण एसियामा दिगो शान्ति सम्भव नहुने धारणा व्यक्त गरेका थिए। साथै, मध्यपूर्वको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्यालेस्टिनी जनताप्रति ऐक्यबद्धता जनाएका थिए।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री इशाक डारले आफ्नो सन्देशमा पाकिस्तान स्थापना गर्न अग्रजहरूले गरेको संघर्ष र योगदानको स्मरण गर्दै वर्तमान क्षेत्रीय तनावले आर्थिक तथा राजनीतिक असर पारेको बताएका थिए।

उनले कश्मीरी जनताको आत्मनिर्णयको अधिकारप्रति समर्थन दोहोर्याउँदै पाकिस्तानले निरन्तर कूटनीतिक र नैतिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा बोल्दै राजदूत हाश्मीले उपस्थित पाकिस्तानी समुदायलाई बधाई दिँदै उनीहरूको योगदानको प्रशंसा गरे। उनले नेपाल–पाकिस्तान सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे। साथै, सन् १९४० मार्च २३ को ऐतिहासिक महत्व स्मरण गर्दै पाकिस्तान स्थापनामा अग्रजहरूको योगदानप्रति उच्च सम्मान प्रकट गरे ।

राजदूत हाश्मीले मध्यपूर्वमा जारी द्वन्द्वका कारण निर्दोष नागरिकले भोग्नुपरेको पीडाप्रति सहानुभूति जनाउँदै यस वर्ष प्रधानमन्त्रीको निर्देशनअनुसार राष्ट्रिय दिवसको औपचारिक स्वागत समारोह आयोजना नगर्ने जानकारी पनि गराएका थिए ।