आकाशको उचाइ नाप्न सक्ने चिलको आयु करिब ७० वर्षको हुन्छ । आफ्नो जीवनको मध्यपश्चात्, अर्थात् ४० वर्षको उमेरमा पुग्दा चिलसँग केवल दुईवटा विकल्प हुन्छन्। उसका प्वाँखहरू भारी भइसकेका हुन्छन्, जसले गर्दा उडान क्षमता घट्छ; शिकार गर्ने चुच्चो बाङ्गिएको हुन्छ र नङ्ग्रा पनि कमजोर भइसकेका हुन्छन्।
अब चिलसँग पहिलो विकल्प—शिकार गर्न नसकी भोकै मर्ने, र दोस्रो—अकल्पनीय पीडाबाट गुज्रिएर पुनर्जन्म जस्तै परिवर्तन गर्ने।
चिलले दोस्रो विकल्प रोज्छ। सर्वप्रथम, ऊ अग्लो चट्टानी पहाडमा एक्लिन्छ। आफ्ना नङ्ग्रा र चुच्चोलाई रगताम्मे हुने गरी ढुङ्गामा ठोकेर उप्काउँछ। केही महिनापछि नयाँ चुच्चो र नङ्ग्रा विकसित हुन्छन्।
त्यसपछि उसले आफ्ना पुराना प्वाँखहरू पनि उप्काउँछ। धेरै महिना भोकप्यासको पीडा सहँदै ऊ नयाँ प्वाँख, नयाँ चुच्चो र नयाँ नङ्ग्राको प्रतीक्षामा बस्छ। समय आउँछ, र ऊ पुनः नयाँ जोश र उमङ्गका साथ उड्न थाल्छ र अर्को ३० वर्षसम्म आत्मसम्मानसहित जीवन बिताउँछ।
वि.सं. १९१० असोज २७ गते श्री ३ जङ्गबहादुर राणाले आफ्ना सन्तानका लागि आयात गरेको अंग्रेजी शिक्षा अहिले “नयाँ जंगे सोच”का पहुँचमा पुगेकोछ । तर, नेपाली सर्वसाधारण भने कहिले दार्जिलिङ सिक्किमे शैलीको ‘कर्सिभ लेखाइ’ त कहिले तोत्रे अंग्रेजी बोलाइको पछि लागिरहेका छन्। अंग्रेजी अलिकति नबुझे अभिभावकलाई सन्तोष हुँदैन ।
मिशनरी स्कुल र अंग्रेजी माध्यमका विद्यालयहरूले अभिभावकको मन जितिरहेका छन् भने सार्वजनिक शिक्षा क्रमशः कमजोर हुँदै गएको देखिन्छ।
नेपालमा शिक्षा प्रणाली दुई धारमा विभाजित भएको स्पष्ट देखिन्छ—एक, हुनेखाने (एलिट) वर्गका लागि; र अर्को, हुँदा खाने वर्गका लागि। सार्वजनिक शिक्षा यस प्रभावबाट अछुतो रहन सकेको छैन।
नेपालको संविधानको धारा ३१ ले सुनिश्चित गरेको शिक्षा अधिकार—माध्यमिक तहसम्म निःशुल्क शिक्षा र आधारभूत तहसम्म अनिवार्य तथा निःशुल्क शिक्षा—कानुनी छिद्रहरूका कारण चुनौतीमा परेको छ। केही सामुदायिक विद्यालयहरूले आफूलाई ‘एलिट’ स्तरमा उभ्याउने प्रयास गरेका छन्, केही सफल पनि भएका छन्।
संस्कारसहितको शिक्षा, श्रमको सम्मान गर्ने शिक्षा, व्यवहारिक तथा जीवनोपयोगी शिक्षा अझै पनि प्राथमिकतामा आउन सकेका छैनन्। तर डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्तासँग जोडिएको प्राविधिक शिक्षाप्रति आकर्षण भने तीव्र रूपमा बढिरहेको छ।

बहुभाषिक समाजमा स्वदेशी भाषाबाट विषयवस्तु स्पष्ट नहुने तर अंग्रेजी माध्यमबाट सहज हुने प्रवृत्ति पनि देखिन्छ। यो भाषाप्रतिको आकर्षण मात्र हो कि संरचनागत कमजोरी?
एकातिर अभिभावकले हात समातेर विद्यालयसम्म पुर्याउने, टिफिनदेखि फिर्तीसम्म व्यवस्थापन गर्ने ‘नर्चरिङ’ वातावरण छ; अर्कोतिर बिहान खाना पाए/नपाए पनि जीविकोपार्जनका लागि शिक्षा लिन बाध्य विद्यार्थीहरू छन्।
एक अभिभावक बिहानदेखि बेलुकासम्म जीविकोपार्जनमा व्यस्त हुन्छन्; उनीहरूलाई ‘अभिभावक दिवस’ को उत्साह बुझ्ने समय पनि हुँदैन। विद्यालयले आयोजना गर्ने विभिन्न कार्यक्रमहरू कहिलेकाहीँ अभिभावकको आर्थिक बोझ मात्र बढाउने माध्यम बन्न पुगेका छैनन् र?
एउटै समाजभित्र यस्तो असमानता किन? एउटै छानामुनि विभेद किन?
शिक्षा एक त्रिमुखी प्रक्रिया हो—विद्यार्थी, शिक्षक र अभिभावक (समाज)। यसमा अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। जहाँ अभिभावक सक्रिय छन्, त्यहाँ शैक्षिक उपलब्धि उल्लेखनीय देखिन्छ।
सामुदायिक विद्यालयहरूको मुख्य चुनौती भनेकै अभिभावकलाई विद्यालयसँग जोड्नु हो। तर प्रश्न उठ्छ—के अभिभावक दिवस जस्ता कार्यक्रमहरू साँच्चै शैक्षिक सुधारका लागि हुन्, कि व्यापारिकरणतर्फ उन्मुख?
देश संघीयतामा छ, समाज यथावत् छ, अभिभावकको अवस्था पनि उस्तै छ। यस्तो अवस्थामा शिक्षामा अभिभावकत्वको भूमिका के शिक्षकले मात्र लिन सक्छ? राज्यले लिनुपर्ने होइन र?
परिवर्तन अनिवार्य छ। दुःखपछि सुखका लागि, सशक्तीकरणका लागि, भविष्यका लागि—देशले धेरै उथलपुथल भोगिसकेको छ। अब १९१० को शिक्षा होइन, २०२८ को योजना पनि होइन—हामीलाई २०८३ को ‘चिल’ जस्तै नयाँ चुच्चो, नयाँ नङ्ग्रा र नयाँ प्वाँख चाहिएको छ, ताकि हाम्रो उडान लामो, दिगो र सम्मानजनक होस्।
(लेखक चौधरी उदयपुरको त्रियुगा नगरपालिका-९ स्थित श्री अम्बेवर जनता मा. बि. राजाबासका माध्यमिक तह अंग्रेजी विषयको अध्यापक तथा विद्यालयमा संचालित अंग्रेजी माध्यम (EMI)संयोजक समेत हुन् । यो लेख कुनै अनुसन्धानको निष्कर्ष नभई लेखकको निजी विचार हो ।)







