काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले नेपालमा बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
नेपालको रसुवा जिल्ला लगायत बाढी तथा पहिरोबाट प्रभावित विभिन्न क्षेत्रमा बहुमूल्य जीवन गुमेको र ठूलो विनाश भएकोप्रति आफू गहिरो दुःखी भएको प्रधानमन्त्री शरीफले बताएका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत शोकसन्तप्त परिवार तथा यस विपत्तिबाट प्रभावित सबैप्रति हार्दिक सहानुभूति व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शरीफले कठिन परिस्थितिमा पाकिस्तान नेपाल सरकार र नेपाली जनताको साथमा रहेको बताएका छन् ।
उनले प्रभावित क्षेत्रमा रहेका सबैको सुरक्षा तथा कल्याणका लागि प्रार्थना गर्दै विपद्बाट प्रभावितहरूको सकुशलताको कामना गरेका छन् ।
नेपालमा पछिल्लो समय बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा जनधनको क्षति भइरहेको अवस्थामा पाकिस्तानी प्रधानमन्त्रीले नेपाली जनताप्रति ऐक्यबद्धता जनाएका हुन् ।







