काठमाडौं । नेपाल सरकारको शिक्षा तथा खेलकुद मन्त्रालयले पाकिस्तान सरकारको सहयोगमा प्राप्त छात्रवृत्तिको आवेदन खुला गरेको छ । पाकिस्तान प्राविधिक सहयोग कार्यक्रम (PTAP) मार्फत शैक्षिक सत्र २०२६–२७ का लागि प्रदान गरिने छात्रवृत्तिका लागि आवेदन आह्वान गरिएको हो ।
पाकिस्तानी दूतावासले जनाए अनुसार नेपाली विद्यार्थीका लागि विज्ञान स्नातक (बीएस्सी) इन्जिनियरिङ तथा डिप्लोमा इन फार्मेसी (डी–फार्मेसी) अध्ययनका लागि कुल १४ वटा छात्रवृत्ति उपलब्ध गराइएको छ।
यसअन्तर्गत सिभिल इन्जिनियरिङमा २, कम्प्युटर इन्जिनियरिङमा २, इलेक्ट्रिकल इन्जिनियरिङमा २ तथा डी–फार्मेसीमा ८ वटा छात्रवृत्ति प्रदान गरिनेछ।
छात्रवृत्तिका लागि छनोट इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) पुल्चोकको प्रवेश परीक्षाको मेरिट सूचीका आधारमा गरिने मन्त्रालयले जनाएको छ। आवेदन दिन इच्छुक विद्यार्थीले कक्षा १२ वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने र आईओई प्रवेश परीक्षाको नतिजामा नाम समावेश भएको हुनुपर्नेछ।
इच्छुक उम्मेदवारले मन्त्रालयले सार्वजनिक गरेको गुगल फाराममार्फत तोकिएको समयभित्र आवेदन दिनुपर्नेछ। आवेदनसँगै शैक्षिक योग्यताको लब्धाङ्कपत्र, नेपाली नागरिकताको प्रमाणपत्र तथा आईओई प्रवेश परीक्षाको स्कोरकार्ड अनिवार्य रूपमा पेश गर्नुपर्ने बताइएको छ ।
हेर्नुस् लिंक







