
इलाम । नेपालस्थित पाकिस्तानी दूतावासले कोशी प्रदेश अन्तर्गत इलाम जिल्लाका बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ।
नेपाल–पाकिस्तान युवा परिषद् (NPYC) को सहकार्यमा इलामको माङसेबुङ र फाकफोकथुम गाउँपालिकामा राहत वितरण सामाग्री हस्तान्तरण गरिएको हो।
पाकिस्तानका राजदूत अबरार एच. हाश्मी, प्रथम सचिव मोहम्मद हारुन रसीद र नेपाल–पाकिस्तान युवा परिषद्का संयोजक ऋचुमणी लुइटेलले गजुरमुखी धाम, माङसेबुङ गाउँपालिकामा बाढीपीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेका थिए।

कार्यक्रममा इलामका प्रमुख जिल्ला अधिकारी सुनीता नेपाल, जिल्ला प्रहरी प्रमुख एसपी एकनारायण कोइराला, माङसेबुङ गाउँपालिकाका अध्यक्ष र स्थानीयवासीहरूको उपस्थितिमा राजदूत हाश्मीले बाढीपीडितप्रति सहानुभूति व्यक्त गर्दै सहयोग हस्तान्तरण गरे ।
राजदूत हाश्मीले नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई स्मरण गर्दै पाकिस्तानका जनताको तर्फबाट सहयोगलाई सद्भाव र दु:खमा साथ र ऐक्यबद्धताको रूपमा वर्णन गरे। उनले बाढीबाट प्रभावित जनताप्रति संवेदना प्रकट गर्दै तीनै तहका सरकारका राहत प्रयासको प्रशंसा गरेका थिए ।
उक्त अवसरमा राजदूत हाश्मीले विशेष घोषणा गर्दै इलामका बाढीपीडित विद्यार्थीहरूका लागि पाकिस्तान सरकारमार्फत चार छात्रवृत्ति (एमबीबीएस, बीडीएस र बी.फार्मेसी) कार्यक्रमअन्तर्गत र उच्च माध्यमिक तहका ५० छात्रवृत्तिहरू प्रदान गर्ने घोषणा गरे।

यसअघि, राजदूत हाश्मीले विराटनगरमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती भण्डारीसँग भेट गरी हालै आएको बाढीका कारण प्रभावित नागरिकप्रति पाकिस्तान सरकार र जनताको तर्फबाट दु:ख प्रकट गरेका थिए।
उनले आफ्नो भ्रमणको उद्देश्य प्रभावित समुदायसँग प्रत्यक्ष भेटघाट गरी एकता र सहयोगको सन्देश दिनु रहेको बताएका थिए ।







