अदालतको फैसला नपर्खी एकलौटी रूपमा अगाडि बढ्नु उचित मान्न सकिन्न : देउवा समूह

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले अदालतमा विचाराधीन विषयलाई बेवास्ता गर्दै एकतर्फी रूपमा अगाडि बढ्नु उचित मान्न नसकिने बताएको छ । समूहले बनाएको महाधिवेशन आयोजक समितिका संयोजक डा.शशाङ्क कोइरालाले पार्टीभित्रको वर्तमान विवाद र जारी विवादित कार्यतालिकाप्रति असन्तुष्टि जनाउँदै त्यस्तो बताएका हुन् ।

सोमबार सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गर्दै कोइरालाले पार्टी अहिले असहज र चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको उल्लेख गरे । पार्टीको वैधानिकता, लोकतान्त्रिक संस्कार र सङ्गठनात्मक एकता सङ्कटमा परेको भन्दै उनले नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाएका छन्।

‘पार्टीको आधिकारिकतासम्बन्धी विषय सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा एकतर्फी रूपमा अधिवेशन र महाधिवेशनको कार्यतालिका घोषणा गरिनु दुर्भाग्यपूर्ण छ,’ कोइरालाले भने, ‘अदालतको फैसला नपर्खी वा वार्ता र संवादमार्फत सहमति नखोजी एकलौटी रूपमा अगाडि बढ्नु कुनै पनि हालतमा उचित मान्न सकिन्न।’

उनले पद बाँडफाँडलाई मात्र समाधानको आधार बनाउने प्रवृत्तिले कांग्रेसको गौरवशाली इतिहास र लोकतान्त्रिक संस्कारलाई कमजोर बनाउने चेतावनी दिए । नेता–कार्यकर्ताको आत्मसम्मान कुनै पनि पदको सौदाबाजीको विषय हुन नसक्ने उनको भनाइ छ।

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वले सार्वजनिक गरेको असोज ३ गतेबाट सुरु हुने महाधिवेशन प्रक्रियामा सहभागी नहुन र पार्टीको १५औं महाधिवेशनका लागि असोज १५ गतेदेखि सुरु हुने वडा अधिवेशनमा सहभागी हुन पनि सो समूहले आह्वान गरेको छ।  

इतर समूहले डा शशांक कोइरालाको संयोजकत्वमा १५औं महाधिवेशन केन्द्रीय महाधिवेशन तयारी समिति बनाएको छ। पार्टी संस्थापन समूहले मंसिर १६-१९ गते १५औं महाधिवेशन गर्ने मिति तय गरेको छ। तर इतर समूहले मंसिर २१-२३ गतेका लागि मिति तोकेको छ।

‘पार्टीको मूल मर्म, लोकतान्त्रिक मूल्य-मान्यता र राष्ट्रिय दायित्वलाई केन्द्रमा राखेर हामीले सुरुदेखि नै सहमति, सहकार्य र एकताको आधारमा १५औं महाधिवेशन सम्पन्न गर्न निरन्तर प्रयास गरेका थियौं,’ संयोजक कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘पार्टीलाई विभाजनमा धकेल्ने कुनै पनि कदमबाट बच्न संवाद र सहमतिमार्फत समाधान खोज्न तथा संगठनको आन्तरिक जीवनमा आँच नपुग्ने वातावरण निर्माण गर्न आग्रह गरियो। तर दुर्भाग्यवश ती प्रयासहरूलाई सकारात्मक रुपमा ग्रहण गरिएन।’