अर्को सूचना नआएसम्म कार्यालय परिसरबाट ग्यास बिक्री वितरण बन्द, बिक्रेता र डिलरमार्फत नियमित हुने

काठमाडौँ। नेपाल आयल निगमसँगको समन्वयमा खाना पकाउने ग्यासको अभावका कारण समस्यामा परेका उपभोक्तालाई लक्षित गरी कार्यालय परिसरबाट हुँदै आएको ग्यास बिक्री वितरण अर्को सूचना जारी नभएसम्मका लागि बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक बिदाका दिनमा विशेषगरी डेरामा बस्ने विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी तथा गर्भवती महिला र साना बालबालिका भएका महिलालाई प्राथमिकता दिँदै विगत तीन दिनदेखि ग्यास विक्रेतामार्फत कार्यालय परिसरमै ग्यास ल्याएर सोझै बिक्री वितरणको व्यवस्था गर्दै आएको थियो।

तर, भदौ २९ गते सोमबारदेखि कार्यालयको नियमित कामसँगै रसुवा बाढीपीडितका लागि राहत व्यवस्थापन तथा बाढीका कारण मृत्यु भएका तर हालसम्म पहिचान हुन नसकेका शवहरूको व्यवस्थापनमा समेत कार्यालय जुट्नुपर्ने भएकाले कार्यालय परिसरबाट ग्यास बिक्री वितरण स्थगित गरिएको प्रशासकीय अधिकृत तारानाथ फुल्लेलले बताए ।

यद्यपि, ग्यासको बिक्री वितरण पूर्णरूपमा बन्द भने नहुने कार्यालयले जनाएको छ। सम्बन्धित ग्यास विक्रेता, डिलर तथा खुद्रा विक्रेतामार्फत ग्यासको बिक्री वितरण नियमित रूपमा सञ्चालन हुने जानकारी कार्यालयले दिएको छ।