उच्च शिक्षा अध्ययनरत नेपाली विद्यार्थीलाई पाकिस्तानी छात्रवृत्ति

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले ‘पाकिस्तानका राजदूत छात्रवृत्ति वितरण समारोह’ आयोजना गरेर २ सय भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिएको छ।

कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हाश्मीले सो छात्रवृत्ति हस्तान्तरण गरेका छन् । देशभरका विभिन्न विद्यालयबाट शैक्षिक योग्यता र आर्थिक अवस्थाका आधारमा छनोट गरिएका उच्च माध्यमिक तहका विद्यार्थीलाई उनले छात्रवृत्ति वितरण गरे।

पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाहको १५०औँ जन्मजयन्तीको अवसरमा विशेष सम्मानस्वरूप त्रिभुवन विश्वविद्यालय अन्तर्गत वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसकी छात्रा प्राप्ति लाम्साललाई यस वर्षको छात्रवृत्ति प्राप्तकर्तामध्ये उत्कृष्ट प्रदर्शन गरेको भन्दै ल्यापटप प्रदान गरिएको थियो।

समारोहमा बोल्दै राजदूत हाश्मीले छात्रवृत्ति कार्यक्रम केवल आर्थिक सहयोग मात्र नभई नेपालको उज्ज्वल भविष्यप्रति लगानी भएको बताए। उनले विद्यार्थीलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणित (STEM), स्वास्थ्य, जैविक विज्ञान, नवप्रवर्तन, कूटनीति, वित्तीय साक्षरता र समालोचनात्मक सोचजस्ता क्षेत्रमा दक्षता विकास गर्न आग्रह गरे।

हाश्मीले पाकिस्तानले नेपालमा प्राथमिक तथा उच्च माध्यमिक तहका विद्यार्थीका लागि छात्रवृत्ति, पाकिस्तानमा उच्च शिक्षाका अवसर तथा नेपाली विद्यालयलाई सूचना प्रविधि, खेलकुद, उदार कला र STEM शिक्षामा संस्थागत सहयोग दिँदै आएको जानकारी दिए।

सन् २०१३ मा सुरु गरिएको ‘पाकिस्तानका राजदूत छात्रवृत्ति कार्यक्रम’ नेपालमा सञ्चालन हुने प्रतिष्ठित विदेशी छात्रवृत्ति कार्यक्रममध्ये एक हो। यस कार्यक्रममार्फत हालसम्म हजारौँ नेपाली विद्यार्थीले शैक्षिक उत्कृष्टता हासिल गर्न सहयोग पाएका छन्। बुधबार वितरणबाट गरिएको छात्रवृत्ति १४ संस्करण भएको बताइएको छ ।

समारोहमा विद्यार्थी, शिक्षक, अभिभावक तथा शिक्षा र सञ्चार क्षेत्रका व्यक्तिहरूको सहभागिता थियो। छात्रवृत्ति पाएका विद्यार्थीले यसबाट  सकारात्मक उर्जा मिलेको प्रतिक्रिया दिदै पाकिस्तानी दूतावासप्रति आभार प्रकट गरेका छन् ।