काठमाडौं । पाकिस्तान दूतावासले आयोजना गरेको ‘१३औँ पाकिस्तान राजदूत निबन्ध लेखन प्रतियोगिता’ तथा ‘९औँ वक्तृत्वकला प्रतियोगिता–२०२६’ को पुरस्कार वितरण समारोह सम्पन्न भएको छ।
कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाहको १५०औँ जन्मजयन्तीको अवसर पारेर यस वर्ष निबन्ध प्रतियोगिताको विषय “संवैधानिक माध्यमबाट पाकिस्तानको मागलाई मूलधारमा ल्याउन कायदे–आजम मोहम्मद अली जिन्नाहको भूमिका” राखिएको थियो।
प्रतियोगितामा विश्व निकेतन माध्यमिक विद्यालय, काठमाडौंका प्रतीक पोखरेल प्रथम, चाँदबाग विद्यालय, काठमाडौंका दक्षेश घिमिरे द्वितीय तथा प्राञ्जली वर्ल्ड स्कूल, काठमाडौंका नितिन थापा तृतीय भएका छन्।
विजेताहरूलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो। साथै उत्कृष्ट १२ अन्य विद्यार्थीलाई पनि विशेष नगद पुरस्कारसहित सम्मान गरिएको दूतावासले जनाएको छ।
त्यसैगरी वक्तृत्वकला प्रतियोगिताको विषय “के कृत्रिम बुद्धिमत्ताले पुस्तकालयलाई विस्थापित गर्नेछ ?” रहेको थियो। प्रतियोगितामा रिलायन्स कलेज, काठमाडौंकी विश्वकला नेपाल प्रथम, नेशनल ल कलेजका छिरिङ तामाङ द्वितीय तथा सेन्ट जेभियर्स कलेज, माइतीघरका विप्युम चौलागाईं तृतीय भएका छन्। उनीहरूलाई पनि नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
दूतावासका अनुसार देशभरका ५० भन्दा बढी उच्च माध्यमिक विद्यालय तथा कलेजका विद्यार्थीहरूले प्रतियोगितामा सहभागिता जनाएका थिए। पछिल्ला दुई सातादेखि चरणबद्ध रूपमा सञ्चालन गरिएको प्रतियोगिता सोमबार आयोजित पुरस्कार वितरण समारोहसँगै सम्पन्न भएको हो।
समारोहलाई सम्बोधन गर्दै राजदूत हाश्मीले विद्यार्थीहरूको आलोचनात्मक सोच, संवैधानिक अभ्यासबारेको बुझाइ तथा समसामयिक विषयमा व्यक्त दृष्टिकोणको प्रशंसा गरे। उनले यस्ता प्रतियोगिताले नेपाल र पाकिस्तानबीच युवापुस्तामार्फत सम्बन्ध सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
पाकिस्तान दूतावासले विगत १३ वर्षदेखि निबन्ध तथा ९ वर्षदेखि वक्तृत्वकला प्रतियोगिता निरन्तर आयोजना गर्दै आएको जनाएको छ।




