भरतपुर आँखा अस्पताललाई पाकिस्तानी सहयोग

चितवन । नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच. हाश्मीले चितवनस्थित भरतपुर आँखा अस्पताललाई पाकिस्तानी जनताको तर्फबाट आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

भरतपुर आँखा अस्पताल (BEH) लाई कागजरहित डिजिटल प्रणालीमा रूपान्तरण गर्न ‘इलेक्ट्रोनिक हेल्थ रेकर्ड (EHR)’ कार्यान्वयनका लागि सहयोगस्वरूप पाकिस्तानका जनताबाट प्रदान गरिएको चेक उनले हस्तान्तरण गरेका हुन् ।

यस पहलले अस्पतालको प्रशासनिक तथा क्लिनिकल सेवा आधुनिक  र पूर्ण रूपमा डिजिटल बनाउने लक्ष्य राखिएको छ।

राजदूत हाश्मीले पाकिस्तानले १९८७ मा पाकिस्तानस्थित BCCI फाउन्डेशनको सहयोगमा अस्पताल निर्माणदेखि नै यसको क्षमतावृद्धि, औषधि फार्मेसी, अपरेसन थिएटर, एम्बुलेन्स र आँखा उपचारसम्बन्धी सहकार्यमा निरन्तर साथ दिँदै आएको बताए।

उनले भने “स्वास्थ्य क्षेत्रको सहकार्य पाकिस्तान–नेपाल सम्बन्धको महत्वपूर्ण स्तम्भ हो र यस्ता पहलले दुवै देशको जन–केन्द्रित विकासप्रति साझा प्रतिबद्धता प्रष्ट पार्छ।”

आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयराम श्रेष्ठ र प्रमुख चिकित्सक डा. पुष्पा गिरीले नेपालमा स्वास्थ्य सेवा विस्तार र आधुनिकिकरणमा पाकिस्तानका जनताको निरन्तर योगदानप्रति आभार व्यक्त गरेका थिए ।

यसैबीच भरतपुर गार्डेन होटलमा आयोजित विशेष डिनरमा BEH व्यवस्थापन, उद्योग–व्यापार समुदाय, स्थानीय प्रशासन, र पाकिस्तानमा अध्ययन गरेका नेपाली पूर्वविद्यार्थीको सहभागितामा विशेष अन्तरक्रिया पनि गरिएको थियो ।

राजदूत हाश्मीले चितवन स्थित College of Medical Sciences पनि भ्रमण गर्दै संकाय सदस्य र विद्यार्थीहरूसँग व्यावसायिक तथा प्राविधिक शिक्षा (TVET) बारे अन्तरक्रिया गरे।

यस कार्यलाई दूतावासले नेपाल–पाकिस्तानबीचको सांस्कृतिक, स्वास्थ्य र शैक्षिक सहकार्यातर्फ महत्वपूर्ण कदमका रूपमा दावी गरेको छ।