
काठमाडौं । नेपालस्थित पाकिस्तान दूतावासले पाकिस्तान नेपाल एलुम्नी नेटवर्क (पीएनएएन) को सहकार्यमा काठमाडौंको नागार्जुन नगरपालिका–४ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
शनिबार आयोजित शिविरमा स्थानीय बासिन्दा, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकालाई लक्षित गरी स्वास्थ्य सेवा प्रदान गरिएको दूतावासले जनाएको छ।
शिविरमा १ सय भन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो। शिविरमा पाकिस्तानबाट अध्ययन पूरा गरेका चिकित्सकहरूको टोलीले स्वास्थ्य सेवा उपलब्ध गराएका थिए ।
स्वास्थ्य परीक्षणका क्रममा केही बिरामीलाई थप उपचारका लागि विशिष्टीकृत अस्पतालमा रेफर समेत गरिएको थियो। साथै, आवश्यक औषधिहरू निःशुल्क वितरण गरिएको दूतावासले जनाएको छ।
कार्यक्रममा पीएनएएनका अध्यक्ष डा. दीपक मिश्र, नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशिला अधिकारी, वडा नं. ४ का अध्यक्ष लक्ष्मीराम शर्मा तथा स्थानीय समाजसेवी र स्वयंसेवकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै नगरपालिका उपप्रमुख सुशिला अधिकारीले नागार्जुनवासीका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेकोमा पाकिस्तान दूतावास र पीएनएएनलाई धन्यवाद दिइन्।
त्यसैगरी, पीएनएएनका अध्यक्ष डा. दीपक मिश्रले नेपालमा स्वास्थ्य सेवा प्रवर्द्धनका लागि पाकिस्तान दूतावासले गरेको सहयोगको प्रशंसा गर्दै यस्ता पहलले दुई देशबीचको जनस्तरीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।






