कश्मीर ऐक्यबद्धता दिवसका अवसरमा काठमाडौँमा कार्यक्रम

काठमाडौँ । कश्मीर ऐक्यबद्धता दिवसका अवसरमा पाकिस्तान दूतावासले काठमाडौँमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा “दक्षिण एसियामा क्षेत्रीय शान्ति र स्थायित्वः कश्मीर समस्याको समाधान अपरिहार्य” विषयमा छलफल गरिएको थियो।

सो अवसरमा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री तथा उपप्रधानमन्त्री तथा विदेशमन्त्रीका सन्देश वाचन गरिएको थियो।

राष्ट्रपति आसिफ अली जर्दारीको सन्देशमा कश्मीरी जनताको आत्मनिर्णयको अधिकारप्रति पाकिस्तानको समर्थन दोहोर्‍याइएको छ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का प्रस्तावअनुसार कश्मीर समस्याको न्यायोचित समाधानबिनाका दक्षिण एसियामा दीगो शान्ति सम्भव नहुने उल्लेख गरिएको छ।

प्रधानमन्त्री शहबाज शरीफले कश्मीरी जनताको नैसर्गिक अधिकारका लागि पाकिस्तानको नैतिक, कूटनीतिक र राजनीतिक समर्थन जारी रहने बताएका छन्।

भारतले ५ अगस्ट २०१९ मा गरेको कदमले जम्मु–कश्मीरमा राजनीतिक र मानवअधिकार अवस्था थप जटिल बनेको उल्लेख सन्देशमा गरिएको छ।

उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले भारतीय नियन्त्रित जम्मु–कश्मीरमा मानवअधिकार उल्लङ्घन, मनपरी गिरफ्तारी तथा राजनीतिक र सञ्चार स्वतन्त्रतामाथि प्रतिबन्ध जारी रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय समुदायलाई संयुक्त राष्ट्रसंघका प्रस्ताव कार्यान्वयन गर्न आग्रह गरेका छन्।

कार्यक्रममा पाकिस्तानका राजदूत अबरार एच. हाश्मीले कश्मीर समस्या समाधान नगरी दक्षिण एसियामा शान्ति र स्थायित्व सम्भव नहुने बताए। अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघका प्रस्तावले कश्मीरी जनताको आत्मनिर्णयको अधिकार स्पष्ट रूपमा सुनिश्चित गरेको उनको भनाइ थियो।

छलफलका क्रममा सहभागी वक्ताहरूले अन्तर्राष्ट्रिय कानुनी तथा मानवीय मापदण्डअनुसार कश्मीर मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउनुपर्नेमा जोड दिएका छन्।

 पत्रकार, लेखक, कश्मीरका जानकार तथा मानवअधिकारकर्मीहरूको उपस्थिति रहेको सो कार्यक्रममा कश्मीर समस्या समाधान क्षेत्रीय शान्तिका लागि अनिवार्य शर्त भएको निष्कर्ष निकालिएको छ।