निर्वाचनमा उम्मेदवारहरूको अमर्यादित भाषा र घृणाजन्य अभिव्यक्तिप्रति आयोगको आपत्ति

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको भन्दै सम्बद्ध सबै पक्षलाई सचेत गराएको छ।

आयोगले गरेको पछिल्लो अनुगमन र सरोकारवालासँगको छलफलमा राजनीतिक दलका नेता तथा उम्मेदवारहरूले एक–अर्काप्रति अमर्यादित भाषा प्रयोग गर्ने र घृणाजन्य अभिव्यक्ति दिने गरेको पाइएको छ। आयोगले निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन र आचारसंहिताको पूर्ण पालना गर्न जोड दिएको हो।

आयोगका अनुसार अहिले डिजिटल प्रविधिको दुरुपयोग गरी अरूको मर्यादामा आँच आउने सामग्री उत्पादन र प्रचारप्रसार गर्ने क्रम बढेको छ। त्यस्तै, मतदाताहरूलाई कुन दल वा नेतालाई भोट दिने भनी सोध्ने र त्यसको भिडियो वा अडियो रेकर्ड गरी सामाजिक सञ्जालमा राख्ने कामले मतदाताको गोपनीयताको हक र गोप्य मतदानको अधिकार उल्लंघन भएको आयोगको ठहर छ।

कतिपय सञ्चारमाध्यमले निर्वाचनअघि नै फलानो उम्मेदवारले जित्छ भनी समाचार सम्प्रेषण गरेर भ्रम सिर्जना गरेको र मतदाता शिक्षा पनि प्रभावकारी नभएको आयोगले जनाएको छ।

विभिन्न राजनीतिक दलका कार्यालयमा भएका तोडफोडका घटनाप्रति पनि आयोगले चासो देखाएको छ। प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै घृणायुक्त आरोप–प्रत्यारोप नगर्न, सामाजिक सञ्जालको दुरुपयोग नगर्न र हिंसात्मक क्रियाकलाप बन्द गर्न आग्रह गरेका छन्।

आयोगले भ्रमपूर्ण समाचार प्रकाशन नगर्न र निर्वाचनलाई मर्यादित बनाउँदै मानव अधिकारको सम्मान गर्न राजनीतिक दल, उम्मेदवार र सञ्चारकर्मी लगायत सबै पक्षलाई आह्वान गरेको छ।