भक्तपुर । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापाको निधन भएको छ। उच्च रक्तचाप र निमोनियाबाट पीडित रहेका ६५ वर्षीय थापाको सोमबार अपराह्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारकै क्रममा निधन भएको हो।
पछिल्लो दुई सातादेखि अस्पतालमा उपचाररत थापाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो।
रेडियो नेपालको सेवाबाट अवकाश लिएपछि उनी सक्रिय राजनीतिमा प्रवेश गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)मार्फत जनप्रतिनिधिका रूपमा स्थापित भएका थिए। हाल उनी जिल्ला समन्वय समिति भक्तपुरको प्रमुखको जिम्मेवारीमा थिए।
उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीका लागि लगिएको थियो। सो क्रममा सूर्यविनायक नगरपालिकाका प्रवक्ता तथा एमाले नेता रविन्द्र सापकोटाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए।
थापाको निधनप्रति विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूले दुःख व्यक्त गरेका छन्। नेपाली कांग्रेस भक्तपुरका सचिव सुशील बस्नेतले सादगी र जनतासँग नजिक रहेर काम गर्ने जनप्रतिनिधिका रूपमा थापालाई सम्झिँदै उनको निधनले भक्तपुरले अनुभवी नेतृत्व गुमाएको बताएका छन्।
नेकपा एमालेका केन्द्रीय सचिव महेश बस्नेतले थापाको निधनले पार्टी र समग्र राजनीतिक क्षेत्रले एक अनुभवी, सरल र प्रतिबद्ध व्यक्तित्व गुमाएको बताएका छन् ।
सूर्यविनायक नगरपालिका–७, गुण्डु निवासी थापाका श्रीमती, एक छोरा र चार छोरी रहेका छन्।







