तस्बिर : सांकेतिक
काभ्रे । संघीय संसदमा बादर नियन्त्रणका लागि मार्न पाउने वा नपाउने विषयमा बहस चलिरहेकै बेला काभ्रेपलाञ्चोकमा बाँदरबाट बाली जोगाउने प्रयासका क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
काभ्रेको पनौती नगरपालिका–१२, महभीरमा स्थानीय रामशरण मुल्मीकी ६८ वर्षीया श्रीमती कमला मुल्मीको आफ्नै काक्रो बारीमा जडान गरिएको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बादरको बढ्दो आतंकका कारण काक्रो खेती जोगाउन बारीमा करेन्ट प्रवाह हुने व्यवस्था गरिएको थियो। सोही क्रममा काक्रोको गोडमेल गर्न गएकी कमला मुल्मी करेन्टको सम्पर्कमा आउँदा घटनास्थलमै उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक रविन कार्कीले पुष्टि गरे ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी निरीक्षकको नेतृत्वमा वैज्ञानिक अपराध अनुसन्धान (SOCO) अधिकृतसहितको टोली घटनास्थलमा पुगेको थियो।
प्रहरीले आवश्यक मुचुल्का प्रक्रिया पूरा गरेपछि शव पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पछिल्लो समय देशका विभिन्न जिल्लामा बादरको आतंकका कारण किसानहरू बाली जोगाउन विभिन्न उपाय अपनाउन बाध्य भइरहेका छन्। यस्तै सन्दर्भमा संसदमा बाँदर नियन्त्रणसम्बन्धी नीति र कानुनी व्यवस्थाबारे बहस चलिरहेका बेला काभ्रेको यो घटनाले किसानको समस्यामाथि गम्भीर प्रश्न पनि उठाएको छ।





