काभ्रे । काभ्रेको चौरीदेउराली गाउँपालिका–७ टाडिगाउँस्थित मध्यपहाडी लोकमार्गमा सडक विस्तारका क्रममा भएको दुर्घटनामा एक स्काभेटर चालकको ज्यान गएको छ।
आज अपराह्न करिब ३ बजे सडक चौडा बनाउने क्रममा ट्रयाक खन्ने बेलामा माथिबाट ढुङ्गासहितको ढिस्को खस्दा बा २ क २७९२ नम्बरको स्काभेटर पुरिएको थियो। उक्त घटनामा चालक रौतहट पौराही गाउँपालिका–३ निवासी ४१ वर्षीय दिलिप स्माली स्काभेटरको क्याबिनभित्रै च्यापिएका थिए।
ढिस्कोले स्काभेटर पूर्ण रूपमा पुरिँदा गम्भीर रूपमा घाइते भएका स्मालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीले उद्धार प्रयास गरे पनि उनलाई बचाउन नसकिएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





