काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ दुलालथोकमा आज दिउँसो बस र मिनि आइचर ठोक्किँदा सातजना घाइते भएका छन्।
प्रहरीका अनुसार काठमाण्डौबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा २ ख ६५७९ नम्बरको बसले सोही दिशातर्फ गइरहेको बा ५ ख ६८३ नम्बरको मिनि आइचरलाई ठक्कर दिँदा आइचर अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेको हो।
दुर्घटनामा मिनि आइचरमा सवार रेशम थापा (३० वर्ष, सिन्धुपालचोक), आईत लाल तामाङ (४३, काभ्रे), लालबहादुर राई (५८, झापा), शेरबहादुर तामाङ (५८, सिन्धुपालचोक), फुर्वा तामाङ (२७, ठेगाना नखुलेको) र चालक रामचन्द्र अधिकारी (५८ वर्ष, भक्तपुर) घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
बसमा सवार यात्रुमध्ये युक्तबहादुर खत्री (७०, बाह्रबिसे) र गोपिलाल पराजुली (६६, बलेफी) सामान्य घाइते भएका छन् र उनीहरूको पाँचखाल पोलिक्लिनिकमा उपचार भइरहेको छ।
दुर्घटनास्थल प्रहरी चौकी पाँचखालबाट करिब २ किलोमिटर दक्षिणमा पर्दछ। बस चालक वर्ष २५ का सुमन बस्नेत (काभ्रे भुम्लु) प्रहरी नियन्त्रणमा रहेका छन्।
घटनास्थलमा प्रहरी निरीक्षक प्रशान्त तामाङको कमाण्डमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रविन बिष्टले बताए ।






